काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि १० प्रतिशत शय्या निःशुल्क नगर्ने अस्पताललाई कारवाही गर्ने चेतावनी दिएका छन्।
नेशनल बाथरोग सेन्टरको दशौं वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले विपन्न र असहाय बिरामीको पहिचान गर्ने काम प्रत्येक वडालाई दिएको जानकारी दिए। वडा कार्यालयले पहिचान गरेर सिफारिसका आधारमा हरेक अस्पतालले विपन्न र असहाय विरामीको लागि १० प्रतिशत शय्यामा निःशुल्क उपचार गर्नुपर्नेमा जोड दिए।
अस्पतालहरुले विपन्नलाई निःशुल्क उपचार गरे नगरेको स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने उनले बताए। मन्त्री बस्नेतले भने,‘ १० शय्या विपन्नलाई निःशुल्क उपचार दिएको छ, छैन हामी व्यापक अनुगमन गर्छौ। नदिएको फेला परे कारवाही गर्छौ। ’
आर्थिक अभावमा उपचार नपाएर कुनै पनि नागरिकले जयान गुमाउनु नपरोस् भन्ने उद्देश्यले आफु काम गरिरहेको जानकारी गराउँदै मन्त्री बस्नेतले त्यस्ता बिरामीका लागि स्वास्थ्य मन्त्रालयमा आकस्मिक उपचार कोषको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताए।
कार्यक्रममा वरिष्ठ बाथरोग विज्ञ डा विनित बैद्यले नेशनल बाथरोग सेन्टरले देशका विभिन्न आठ स्थानमा शाखा विस्तार गरेर सेवा दिइरहेको बताउँदै निजी क्षेत्रको एकल प्रयासमा सरकारले पनि हातेमालो गर्नु पर्ने बताए। सेन्टरका कार्यकारी निर्देशक रोषन कक्षपतिले आगामी ५ वर्ष भित्र सेन्टरले थप ७ जिल्लामा सेवा बिस्तार गर्ने जानकारी दिए।