काठमाडौं - नर्स लक्ष्मी जोशीलाई नाइटिङ्गेल नर्सिङ अवार्ड २०८० बाट सम्मानित गरिएको छ। ५० हजार एक रुपैयाँ नगद पुरस्कारसहित उनलाई अवार्ड प्रदान गरिएको हो।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा समाजसेवी तथा सिएनएन हिरो विजेता अनुराधा कोइरालाले जोशीलाई सम्मान गरेकी हुन्। हेल्थ एट होम र मेड प्रो इन्टरनेशनल प्रालिले संयुक्त रूपमा उनलाई अवार्ड प्रदान गरेका हुन्। यी संस्थाले अघिल्लो वर्षदेखि अवार्ड प्रदान गर्न सुरू गरेका हुन्।
जोशी करिब तीन दशकदेखि नर्सिङ पेशामा सक्रिय छिन्। हाल उनी वीर अस्पतालको अंकोलोजी विभागमा कार्यरत छिन्। यस्ता अवार्डले नर्सिङ पेशालाइ नै प्रोत्साहन गरेको जोशीले बताइन्।