काठमाडौं- मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
नीति तथा कार्यक्रममा कुपोषणमुक्त प्रदेश बनाउनेदेखि निशुल्क ओपिडीसम्म गरेर स्वास्थ्यका १८ वटा विषय समावेश छन्।
नीति तथा कार्यक्रममा स्वास्थ्यका १८ विषय
९३. संघीय सरकार स्थानीय तह एवं सरोकारवालाहरुसँगको समन्वय र साझेदारीमा “पूर्ण सुरक्षित मातृत्व प्रदेश, पूर्ण खोप युक्त प्रदेश ‘ “कुपोषण मुक्त प्रदेश” बनाउन प्रदेश सरकार प्रतिबद्ध रहनेछ ।
९४. स्वास्थ्य सेवालाई जनस्तर सम्म पुर्याउन “स्वास्थ्य सुधार योजना” को रुपमा पालिकाहरुसंगको समन्वय र सहकार्यमा उपलब्ध स्रोत साधनले भ्याएसम्म प्राथमिक स्वास्थ्यकेन्द्रहरु (PHC) मा कम्तिमा एक जना एम.बी.बी.एस. चिकित्सकको सेवा उपलब्ध गराईनेछ ।
९५. विपन्न तथा आर्थिक अवस्थाका कारण अस्पताल सम्म पुग्न नसक्ने प्रदेशका गरीब नागरिकहरुलाई अस्पताल सम्म ल्याई उपचार सुविधा उपलव्ध गराउने नीति अङ्गीकार गरिने छ । गरीब नागरिक द्वारा आफनो स्वास्थ्य उपचारमा गरिने खर्चलाई न्यूनीकरण गर्न आवश्यक नीतिगत सुधार गरि कार्यक्रम सन्चालन गरिनेछ |
९६. जेष्ठ नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउन सरकारी अस्पतालहरुमा विरामी दर्ता गर्दा शुल्क नलाग्ने तथा प्रदेश तथा स्थानीय तहका ल्यावहरुमा निः शुल्क परीक्षण गरिनेछ |
९७. प्रदेशमा संचालित वृद्धा आश्रम, बालगृह, मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुको स्वास्थ्य परीक्षण र उपचारको लागि घुम्ती स्वास्थ्य सेवा संचालन गरिनेछ ।
९८. मधेश प्रदेश सरकारले ६० वर्ष माथिको नागरिकलाई आँखा, दाँत र कानको फ्री चेकअप गरिने व्यवस्था मिलाउनेछ ।
९९. रक्तचाप, मधुमेह तथा अन्य नसर्ने रोगको प्राथमिक परीक्षण तथा सचेतना वृद्धिका लागि पालिकाहरुसंगको सहकार्यमा “मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवा कार्यक्रम” संचालन गरिनेछ ।
१००. प्रदेश स्तरमा बाल अस्पताल स्थापना तथा सञ्चालनको लागि संघीय सरकारसँग पहल गरिने छ । बारा जिल्लाको झिटकैयामा सरुवा रोग अस्पताल निर्माण गरिनेछ ।
१०१. क्यान्सर रोगको उपचारका लागि प्रदेशमा क्यान्सर अस्पताललाई थप सुदृढिकरणका लागि संघीय सरकारसंग पहल गरिनेछ ।
१०२.मधेश स्वास्थय विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षाको अध्ययन अध्यापन कार्य प्रारम्भ भएको विदितैछ । यस प्रतिष्ठानलाई प्रादेशिक गौरवको आयोजनाको रुपमा विकसित गर्न गुरुयोजना बनाई क्रमशः कार्यान्वयन गर्दै लगिनेछ । प्रतिष्ठानमा विशिष्टकृत सेवाहरु प्रदान गर्न (हृदय रोग, क्यान्सर, D.R.T.B जेरियाट्रिक तथा मानसिक रोगहरु उपचार केन्द्र) संस्थागत सुधार जनशक्तिको प्रबन्ध एवं आवश्यक पूर्वाधारहरुको निर्माण गरिनेछ ।
१०३. ६ वटा जिल्लामा रहेका प्रादेशिक अस्पतालहरुमा विशेषज्ञ सेवा संचालनमा ल्याउन Physiotherapy and Dialysis लगायतका सेवाहरु संचालन गरी १०० वेडको अस्पतालमा परिनत गरिनेछ र सिरहा जिल्ला स्थित प्रादेशिक अस्पताल, सिरहालाई १५० वेडमा र धनुषाको डुमरिया, पर्साको पोखरीया, सप्तरीको भारदह अस्पतालहरुलाई ५० वेडमा स्तरोन्नती गरिनेछ ।
१०४. प्रदेश जनस्वास्थ्य प्रयोगशालामार्फत आठ वटै जिल्लामा रहेका विभिन्न स्वास्थ्य प्रयोगशालाहरुको सुदृढीकरण तथा गुणस्तर अभिवृद्धिको लागि पूर्वाधार निर्माण, थप जनशक्ति र उपकरणको व्यवस्था गरिनेछ ।
१०५. ब्लड बैंक सेवालाई नयाँ प्रविधि सहित सुदृढीकरण तथा आधुनिकीकरण गरी सञ्चालन गरिनेछ ।
१०६. गुणस्तरीय स्वास्थ्य सेवामा हरेक वर्ग, जाती तथा समुदायको पहुँच सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण रणनीति, २०७८ प्रभावकारी रूपले कार्यान्वयन गरिनेछ ।
१०७. प्रदेश भित्रका सबै अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरुले प्रदान गर्ने स्वास्थ्य सेवाहरुको न्यूनतम मापदण्ड तोकी सो को पालनाको लागि नियमित अनुगमन गरिनेछ ।
१०८. स्वास्थ्य सेवालाई थप बिस्तार गर्न आयुर्वेद, योग, होमियोप्याथी तथा अन्य बैकल्पिक उपचार पद्धतिको विस्तार गरिनेछ र सो को लागि चाहिने आवश्यक उपकरण तथा विशेषज्ञ सेवाको व्यवस्था गरिनेछ । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरु मध्ये भौतिक पूर्वाधार प्राप्त रहेका जिल्लाहरुलाई १० वेडको अस्पतालमा स्तरोन्नती गरिनेछ ।
१०९. मोबाईल ट्रमा अस्पताल संचालनका लागि प्रकृया अगाडी बढाईनेछ ।
११०. मलेरीया, फाइलेरीया, कालाजार, क्षयरोग, कुष्ठरोग, डेंगु लगायतका रोगहरुको रोकथाम नियन्त्रण एवं निवारणका लागि आधुनिक प्रभावकारी कार्यक्रमहरु समुदाय स्तरसम्म सञ्चालन गरिनेछ ।
१११. प्रदेश अन्तर्गत दलित तथा विपन्न विद्यार्थीहरुलाई अ.न.मी., स्टाफ नर्स, हेल्थ असिष्टेण्टको प्राविधिक तालिमको लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरिनेछ।