काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार हेटौंडा अस्पताल र बाराको पथलैयामा रहेको मेडिकल स्टोरको आकस्मिक निरीक्षण गरेका छन्।
काठमाडौँका सरकारी अस्पताल र केही निजी अस्पतालको निरीक्षण गरिसकेका मन्त्री बस्नेतले उपत्यका बाहिरका सरकारी र निजी अस्पतालहरुले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिन र सेवा सुधार्ने उद्देश्य अनुसार आकस्मिक निरीक्षणमा निस्केका हुन्।
हेटौडा अस्पतालको आकस्मिक निरीक्षणको क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिएका थिए। अस्पतालमा उपचाररत बिरामीहरुसँग पनि मन्त्री बस्नेतले कुराकानी गरेका थिए।
निरीक्षणपछि मन्त्री बस्नेतले देश भरिका अस्पतालहरुले १० प्रतिशत शय्या विपन्नका लागि छुट्याएर निःशुल्क उपचार गर्नुपर्नेमा जोड दिएका थिए।
देशका अधिकांश सरकारी अस्पतालहरुले उपकरण किनेर प्रयोगमा नल्याउने र थन्क्याएर राख्ने प्रवृतिलाई निरुत्साहित गर्न स्वास्थ्य मन्त्रालयसँग समन्वय नगरि नयाँ उपकरण खरिद नगर्न आफूले निर्देशन दिएको मन्त्री बस्नेतले जानकारी दिए। उनले भने, ‘आवश्यकता र औचित्यताका आधारमा मात्र उपकरण किन्नु पर्छ।’
जनताले गुणस्तरीय उपचार पाउनुपर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउदै मन्त्री बस्नेतले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्न आफु पछि नपर्ने दाबी गरे। कार्यक्रममा हेटौंडा अस्पतालका निर्देशकसहित चिकित्सकले अस्पतालले प्रदान गरिरहेको सेवाका विषयमा जानकारी गराएका थिए।
त्यसैगरि मन्त्री बस्नेतले पथलैयास्थित औषधि स्टोरको पनि निरिक्षण गरेर त्यहाँ रहेको औषधि र भण्डारणका बिषयमा जानकारी लिएका छन्।
सो अवसरमा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालगायत औषधि स्टोरका अधिकारीले मन्त्री बस्नेतलाई औषधि भण्डारणका विषयमा जानकारी गराएका थिए।