दोलखा- दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा अवस्थित पशुपति चौलागाईं स्मृती अस्पतालमा एकैदिन एक जटिल शल्यक्रिया सहित १६ वटा मेजर शल्यक्रिया भएको छ।
अस्पतालमा बुधबार पाठेघरको ट्युमर निकाल्ने शल्यक्रिया एक वटा, आङ खस्ने बिरामीको पाठेघर निकाल्ने ८ वटा, शल्यक्रिया गरि बच्चा जन्माउने ५ वटा र हाडजोर्नी सम्बन्धी शल्यक्रिया २ वटा गरि १६ वटा मेजर शल्यक्रिया भएको अस्पतालका बायोमेडिकल विभाग प्रमुख उत्तम पोखरेलले जानकारी दिए।
अस्पतालमा कार्यरत एमडीजीपी डा रक्षा ढुंगानाको नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले शल्यक्रिया गरी बच्चा जन्माउने र बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको विशेषीकृत कार्यक्रम अन्तर्गत हाडजोर्नी विशेषज्ञ डा महेश कर्माचार्य नेतृत्वको टोलीले हाडजोर्नी सम्बन्धी सफल शल्यक्रिया सम्पन्न गरेको हो ।
त्यस्तै बाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयको कार्यक्रम अन्तर्गत किष्ट शिक्षण अस्पतालबाट आएको विशेषज्ञ चिकित्सकीय टोलीले पाठेघरको ट्युमर निकाल्ने शल्यक्रिया र आङ खस्ने बिरामीको पाठेघर निकाल्ने शल्यक्रिया सम्पन्न गरेको हो । हाल सबै बिरामीहरुको अवस्था सामान्य रहेको छ र अस्पतालले संचालनमा ल्याएका ४१ वटै शय्याहरु भरिएका छन्।
पशुपति चौलागाईं स्मृती अस्पतालमा ६ जना विशेषज्ञ चिकित्सकहरु सहित सम्भवत: पहिलो पटक एकै दिनमा यति धेरै शल्यक्रिया भएको हो । विशेषज्ञ चिकित्सकहरुलाइ नियमित गर्नेगरि व्यवस्थापन गर्न सके अझै धेरै बिरामीहरुलाई गुणस्तरीय सेवा दिन सकिने अस्पतालका मेडिकल सुपरिनटेन्डेन्ट डा ज्ञानेश्वर श्रेष्ठले बताए ।
अस्पतालमा हाल ३ जना विशेषज्ञ चिकित्सक सहित ७२ जना स्वास्थ्यकर्मीहरु कार्यरत छन्।