बर्दिया- बर्दियामा अत्यधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। जिल्लमा यस वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ। गर्मीका कारण व्यवसायसमेत प्रभावित भएका छन्।
दिनप्रतिदिन यहाँको गर्मी बढिरहेको छ भने दिनभरि तातो हावा चल्न थालेपछि यहाँको जनजीवन थप अस्तव्यस्त बनेको स्थानीय बताउँछन्। अत्यधिक गर्मीले गर्दा सर्वसाधारण न्यून सङ्ख्यामा मात्र बाहिर निस्कने गरेकाले व्यापार व्यवसाय सबैभन्दा बढी प्रभावित भएको मधुवन उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष नृप सोडारीले बताए।
अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको सङ्ख्या बढेका छन्। बिरामीको चापले अस्पतालमा श्ययाको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डन डा सुवास पाण्डेले बताए। उनका अनुसार गर्मी र तातो हावाका कारण बिरामी हुनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेका छन्।
गर्मीका कारण लु लागेका, झाडा पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको डा पाण्डेले बताए। बालबालिकामा शरीरभरि रातो बिमिरा आउने, बिमिरा पाकेर घाउ बन्ने र सङ्क्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।