काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट अनेरास्ववियुले कैलालीको गेटामा रहेको सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न माग गर्दै दबाबमुलक प्रदर्शन गरेको छ।
अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा मंगलबार माइतीघर मण्डलामा दबाबमुलक विरोध प्रर्दशन गरेको हो। सरकारले आफ्नो नीति तथा कार्यक्रममा कैलालीको गेटामा सहिद दशरथ चन्द विज्ञान विश्वविद्यालय बनाउने घोषणा गरे पनि बजेटमा १०० शय्याको प्रतिष्ठान बनाउने घोषणापछि सुदूपश्चिम प्रदेशमा लगातार विरोध प्रदर्शन हुँदै आएको छ।
उक्त आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै अनेरास्ववियुले माइतीघर मण्डलबाट सरकारलाई खबरदारी गर्नका निम्ती विरोध प्रर्दशन गरेको अनेरास्ववियुका महासचिव नरेश रोकायाले जानकारी दिए।
महासचिव रोकायाले भने,‘कैलालीको गेटामा ६ सय शय्याको लागि आवश्यक पूर्वाधारनिर्माण सम्पन्न भएको छ। प्रशासनिक, छात्राबास लगायतका २९ वटा संरचनाहरु सम्पन्न छन्। मेडिकल माफियाको प्रभावमा परि सरकारले सुदूरपश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय रोकिरहेको छ। केन्द्रीकृत शासन प्रणालीले सुदूरपश्चिमलाई सौतेनी व्यवहार गरिरहेको छ।’
महासचिव रोकायाले सिंगो सुदूपश्चिम प्रदेशमा भन्दा प्रधानमन्त्रीको निर्वाचन क्षेत्र गोरखा, अर्थमन्त्रीको डा प्रकाश शरण महतको गृह जिल्ला नुवाकोटमा बढी बजेट विनियोजन भएको आरोप लगाए। उनले यो सुदूरपश्चिम प्रदेशको मात्रै नभएर समग्र राज्यको सवाल भएको बताए।
त्यसैगरी अनेरास्ववियुका उपाध्यक्ष गोविन्द गिरिले २०६९ साल माघ २९ गते एमाले सरकारमा सहभागी भएको बेला सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रक्रिया अघि बढाएको दाबी गरे। उनले सुदूरपश्मिका जनतामाथि सरकारले पटक–पटक घात गरेको बताउँदै सरकारले तत्काल बजेट विनियोजन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिए।
०८० जेठ ५ गतेको सहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नु पर्ने भन्दै सुदूरपश्चिम प्रदेशमा समेत निरन्तर रुपमा आन्दोलन भइरहेको छ। सुदूरपश्चिम प्रदेश बन्द, प्रदेशसभा सदस्यहरुलाई प्रदेश सभा जान रोक लगाएका आन्दोलनकारीले मंगलबार प्रदेश प्रमुख देवराज जोशीको निवासमा मुख र आँखामा कालोपट्टी बाँध्दै विरोध गरेका थिए।
अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटी र सुदूरपश्चिम काठमाडौ-सम्पर्क समितिको आयोजना र अनेरास्ववियु केन्द्रीय कमिटीको सहकार्यमा दबाबमूलक कार्यक्रम गरिएको अनेरास्ववियुका सचिव दीपक धामीले जानकारी दिए।