काठमाडौं- सांसद विन्दवासिनी कंसाकारले जलन उपचारका लागि जलन उपचार कोषको स्थापना गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रालयअन्तर्गत सुझाव प्रस्तुत गर्दै उनले जलनको विकराल समस्यालाई मध्यनजर गर्दै अन्य रोगको उपचारसरह जलन उपचार कोषको स्थापना गनुपर्ने बताइन्।
“किन जलन उपचारलाई अरु रोगसरह उपचार कोष दिइँदैन ”, उनले भनिन्, “मैले आफूले तेजाब जलनको अनुभव गरेको छु । मैले अनेकौँ कारणले जलेका व्यक्तिहरूको पीडा पनि अनुभव गरेको छु। जलनका कारण धेरै छन्। तर जलनपछि नागरिकले भोग्ने दुर्गति र छट्पटी समान छन।”
उनले पहिले उपचार पाउने र निवेदन दिने मानवीय परम्पराको सुरुआत गर्न पनि आग्रह गरिन्। अधिकांश जलन दुर्घटनाका कारण भए पनि सरोकारवाला गम्भीर हुन नसकेको उनले बताइन्।