दादुरा जिवाणु (भाइरस)बाट सर्ने अत्यन्त संक्रामक रोग हो। यसले जुनसुकै उमेरकालाई संक्रमण गर्ने भएता पनि खासगरेर शिशु, बालबालिकामा तथा ३० वर्ष माथिका वयस्कलाई बढी संक्रमण गर्छ। पारामिक्सो परिवारभित्र पर्ने दादुरा भाइरसले उपल्लो श्वास–प्रश्वास नलीमा संक्रमण गर्छ, संक्रमण भएको १० देखि १४ दिनभित्र शरीरभरी फैलिन्छ। यसो हुँदा विभिन्न गम्भीर स्वास्थ्य समस्या तथा विकृति उत्पन्न हुनुकासाथै मृत्युसमेत हुन्छ। यो रोगविरुद्ध सुरक्षित एवम् प्रभावकारी खोप हुँदाहुँदै विश्वव्यापी रुपमै बालबालिकाको प्रमुख मृत्युको कारण बनेको छ।
वर्तमान स्थिति
दादुरा विकासोन्मुख देशहरुमा खासगरेर अफ्रिकाका केही भाग तथा एशियामा निकै संक्रमण गर्ने गरेको छ। सन् २०१८ मा १ लाख ४० हजारभन्दा बढीको दादुराबाट मृत्यु भएको पाइयो। प्रति व्यक्ति कम आय भएका व्यक्ति र स्वास्थ्य सेवा सुविधाको पहुँच कम भएका ९५ प्रतिशत भन्दा बढीको दादुराका कारणले मृत्यु भएको पाइएको छ। विश्व स्वास्थ्य संगठन तथा यसका साझेदार संस्थाले दादुरालाई खोप लगाएरै सन् २००० देखि २०२१ सम्ममा ५ करोड ६० लाख नागरिकलाई बचाउन सफल भए। हाल विश्वभरी दादुरा खोप नलगाएका १ लाख २८ हजारको मृत्यु भएको अनुमान गरिएको छ। सन् २०२१ मा १ वर्षका ८१ प्रतिशत बालबालिकाले नियमित खोप कार्यक्रमबाट एक मात्रा दादुरा खोप प्राप्त गरेका थिए। विश्व स्वास्थ्य संगठन तथा साझेदार संस्थाद्घारा दादुरा निवारणमा पहुँच पुर्याउन निर्देशिका योजना तर्जुमा गरियो।
नेपालमा २०७८ देखि काठमाण्डौ र ललितपुरबाट सुरु भएको दादुरा गत पुषदेखि पूर्ण खोप घोषित भएको वाँकेलगायत काठमाण्डौमासमेतका १७ भन्दा बढी जिल्लाका १ हजार १ सयभन्दा बढी बालबालिकामा फैलिसकेको छ।
सर्ने तरीका
दादुरा भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा श्वास–प्रश्वासको माध्यमबाट अन्य व्यक्तिलाई सर्दछ। अर्थात् प्रत्यक्ष सम्पर्कमा संगै खाना खाने, सुत्ने, पढ्ने, खेल्ने, संक्रमितले प्रयोग गरेका रुमाल, खेलौना, खाना आदिबाट सजिलै सर्दछ।
चिन्ह र लक्षणहरु
सुरुमा उच्च ज्वरो (१०४ डिग्री वा ४० डिग्री सेल्सियस) आउनु, नाकबाट पातलो सिगान वग्नु सुख्खा खोकी लाग्नु, आँखा आँखा रातो (कन्जञ्टिभाइटिस) हुनु, मुखभित्र पछाडि स–साना सेता दाना (कक्लिक्स स्पट) देखिनु, कानको वाहिरी भागको संक्रमण (ओटाइटिस मिडिया) हुनु, पाखुरा, छाती, ढाड, तिघ्रा र खुट्टाको छालामा राता राता दाना ( एकअर्कोमा गाँसिएका र पानी भरिएका) आउनु, निमोनिया, ब्रोङ्काइटिस हुनु, पखाला लाग्नु, मस्तिष्क ज्वरो, र अन्त्यमा मृत्यु हुनु।
विकृति
दादुरा भाइरस संक्रमित बालबालिका मध्ये २० प्रतिशत जतिमा विकृति आउन सक्छ। खासगरेर जटिल झाडापखाला, ब्याक्टेरिया संक्रमित निमोनिया, ब्रोङ्काइटिस, आँखाको (कर्नियामा) अल्सर, अन्धोपन, मस्तिष्क जवरो र मृत्यु हुनु यसका विकृति हुन्।
गर्भवतीलाई दादुरा भाइरस संक्रमण भएमा अघिग्रो (तुहिने), महिना नपुग्दै (गर्भ रहेको ३७ हप्ताभन्दा कम समयमै) जन्मने, कम तौल (२५०० ग्रामभन्दा कम) को शिशु जन्मने, मृत शिशु जन्मने, आदि।
उपचार
भाइरसबाट सर्ने रोग भएकोले दादुराको खास उपचार केही हुँदैन। चिन्ह र लक्षण अनुसारको उपचार मात्र गरिन्छ, जसमा ज्वरो आएमा सिटामोल, बढी खोकीबाट छातीमा संक्रमण भएमा प्रतिजैविक (एन्टिवायोटिक) र अन्धोपनबाट बचाउन भिटामिन ए दिइन्छ।
रोकथाम तथा नियन्त्रणमा समस्या
नेपालको स्वास्थ्य सेवा प्रणाली दिनानुदिन खस्कँदो छ। हरेक वडामा वडा स्वास्थ्य कार्यक्रम संरचना भए पनि हरेक शिशुले खोप पाउन सकेका छैनन्। नेपालमा सन् १९७९ देखि दादुराविरुद्ध खोप लगाउन सुरु गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको २०७७÷७८ को प्रतिवेदन अध्ययन गर्दा जम्मा ७८ प्रतिशत बालबालिकाले मात्र पूर्ण खोप पाएका छन् भने २२ प्रतिशत बालबालिका पूर्ण खोप र ४० प्रतिशत बालबालिकाले दादुराििवरुद्ध एक मात्रा पनि खोप पाएका छैनन्, दादुरा र रुबेला दोश्रोको कभरेज (१२ देखि २३ महिना) ८१प्रतिशत मात्र छ भने ४ प्रतिशत भन्दा बढी बालबालिकाले कुनै पनि खोप लगाएका छैनन्। यसो हुनुमा पहिले नियुक्त ग्रामीण स्वास्थ्य कार्यकर्ता र मात्रृ शिशु कार्यकर्तालाई बढुवा गरी क्रमशः अहेव र अनमी बनाइयो। अनि उनिहरु उच्चस्तरका स्वास्थ्यकर्मीको रुपमा खोपलगायतका सामुदायिक स्वास्थ्य कार्यक्रमको दायित्वबाट पञ्छिदै गए। फलस्वरुप खोप केन्द्रमा नजाने, गए पनि १÷२ घण्टा नविताइकनै फर्कने, अधिकांश महिला स्वास्थ्य स्वयम् सेविकाले पनि खोप लाउन छुटेकालाई केन्द्रसम्म पु¥याउन नसक्दा बालबालिका खोपबाट वञ्चित भएका छन्। अन्य कारणमा शिक्षाको कमी, अभिभावकले खोपलाई महत्व नदिने, काममा बढी ध्यान दिने, खोपमा उत्प्रेरणामा कमी, कोभिड १९ महामारी, वसाई सराईजस्ता कारणले दादुरा रोकथाम÷नियन्त्रणमा समस्या देखिन्छ।
रोकथाम तथा नियन्त्रणमा भएका प्रयास
विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरुले दादुरा निवारण लक्ष्य राखेका छन्, जसमा विश्व स्वास्थ्य संगठनले दादुराको खोप तथा सर्वेक्षण कार्यक्रममा समन्वय गरी सन् २०२६ सम्म दादुरा निवारण गर्ने लक्ष्य हासिल गर्न सवै देशलाई सहयोग गरेको छ।
नेपाल सरकारले २०६९ सालदेखि दादुरा र रुबेला गरी २ वटा रोगको (एम.आरं) रोकथाम तथा नियन्त्रणका लागि अभियान (९ महिनादेखि १५ वर्षसम्मका लागि) सञ्चालन गरेको थियो। सन् २०१९ सम्ममा दादुरालाई निवारण गरिसक्ने लक्ष्य लिएको थियो, तर विभिन्न कारण देखाएर सन् २०२३ सम्म निवारण गर्ने प्रतिवद्धता जनाए पनि लक्ष्य हासिल हुन नसकेपछि पुनः ३ वर्ष बढाएको छ। आगामी असारसम्म सरकारले ९ जिल्लाका ६ महिनादेखि १५ वर्ष मुनिकालाई दादुरा खोप अभियान सञ्चालन गर्ने भएको छ। यसभन्दा पहिले जति मात्रा खोप लगाएता पनि अभियानमा पनि एकमात्रा खोप लगाउनु पर्नेछ।
रोकथाम÷ तथा नियन्त्रण
दादुराविरुद्ध बँच्ने एकमात्र उपाय खोप लगाउनु हो। पहिलो एकमात्रा खोपले ८५प्रतिशत बचाउँछ। दोश्रो मात्राले करिब १००प्रतिशत नै बचाउँछ। त्यसकारण शिशु ९ महिना पुग्नासाथ दादुरा र रुबेलाविरुद्धको (एम.आर) खोप लगाइ हाल्नु सर्वोत्तम उपाय हो। साथै अभियान सञ्चालन भएमा पनि १ मात्रा खोप नछुटाइकन) लगाउनु पर्छ। नेपाल सरकारले खोप कार्यक्रमलाई सुदृढ र नियमित गर्न खोप कार्यमा समर्पित करार सेवामै भए पनि खोप कार्यकर्ता (अहेव÷अनमी) को व्यवस्था गर्नु नितान्त जरुरी देखिन्छ।
स्वास्थ्य प्रवद्र्धन अभियान ः दादुरा रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य प्रवद्र्धन अभियानको ठूलो महत्व छ
संक्रमितलाई आराम गर्न लगाउने र जल वियोजनबाट बचाउन झोलिलो खानेकुरा ख्वाउने।
उच्च ज्वरो (१०४ डिग्री) का लागि सिटामोल अथवा इबुप्रोफेन दिने।
संक्रमितलाई अरुबाट अलग स्थानमा राख्ने, कसैसंग संसर्ग गर्नबाट रोक्ने र अध्ययन गर्न नपठाउने।
संक्रमितले प्रयोग गरेका भाँडा, कपडा र सुत्ने ओछ््यान अरुलाई प्रयोग गर्न नदिने।
संक्रमितले प्रयोग गरेका सामग्री (खाना, कपास, टिस्यु पेपर) अलग र सही तरिकाले विसर्जन गर्ने।
हात सावुन–मनतातो पानीले मिचिमिचि धुन लगाउने।
दादुराका विरामीका आँखाबाट निस्कने कचेरा आदिलाई मनतातो पानीमा कपास भिजाएर पुछिदिने।
दाल, गेडागुडीको रस, भात, रोटी, हरियो तरकारी, माछा, मासु, अण्डा, दूध, सागपात, फलफूल आदि पोषिला खानेकुरा ख्वाउने।
शिशु ९ महिना पुग्नासाथ नेपाल सरकारद्वारा निशुल्क र हरेक खोप केन्द्रबाट प्रदान गर्ने दादुरा र रुबेलाविरुद्धको (एम.आर.) पहिलो मात्रा र १५ महिनामा दोश्रो मात्रा खोप लगाइहाल्ने। साथै अभियानका बेला पनि एक मात्रा खोप लगाउने।
राज्यका तीनवटै सरकारलाई संलग्न गराई स्वास्थ्य शिक्षा मूलक कार्यक्रम मार्फत् व्यापक जनचेतना अभिवृद्धि गर्ने, यसबाट खोपको कभरेज बढाउने एवम् सरकारको दादुरा निवारण अभियानमा परिचालन गर्ने।
स्थानीय विद्यार्थी, कर्मचारी, जनप्रतिनिधिलगायत सवै सरोकारवालालाई दादुरा निवारण अभियान सफल पार्ने कार्यमा परिचालन गर्ने।