काठमाडौं- सांसद बिनिता कठायतले डाक्टरको दरबन्दी बढाउनु फजुल भएको हो? भन्दै संसदमा प्रश्न गरेकी छिन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले डाक्टहरुको दरबन्दी बढाउनु फजुल खर्च हो? भन्दै अर्थमन्त्रीलाई प्रश्न गरेकी हुन्।
उनले भनिन्, ‘चालु खर्चको नराम्रो भनेर भाष्य निर्माण गरिएको छ। डाक्टरहरुको दरबन्दी पनि त्यसैमा पर्छ। के यो नचाहिने फजुल खर्च हो ? यसको जवाफ दिनुपर्ने हुन्छ अर्थमन्त्रीज्यूले।’
जुम्लामा डाक्टर तथा स्वास्थ्यकर्मीको आवश्यक दरबन्दी नबढाउँदा डायलाइसिसको लागि बिरामीले आठ महिना कुर्नु परेको उनले बताइन्। स्वास्थ्यमा सर्वसुलभ पहुँच बढाउन डाक्टर तथा स्वास्थ्यकर्मीको दरबन्दी बढाउनुपर्नेमा उनको जोड छ।
संसदमा उनले बोलेका कुराहरु:
मलाई हिजो जुम्लाबाट मद्दत माग्दै फोन आयो। डायलाइसिसको लागि आठ महिना कुर्ने समय। म सोध्न चाहन्छु सभामुख मार्फत प्रधानमन्त्रीज्यूलाई किन स्वास्थ्यमा डाक्टर र स्वास्थ्यकर्मीहरुको दरबन्दी बढाइएको छैन। अघिल्लो वर्ष र यो वर्ष पनि। के तपाईहरु आफुलाई अथवा आफ्नो परिवारलाई भन्नु हुन्छ, कुर आठ महिना डायलाइसिसको लागि भनेर ? म मेरो जुम्लाको ती २१ वर्षीया बहिनीलाई के जवाफ दिऊ ? विकराल छ, स्वास्थ्यको अवस्था। चालु खर्चको नराम्रो भनेर भाष्य निर्माण गरिएको छ। डाक्टरहरुको दरबन्दी पनि त्यसैमा पर्छ। के यो नचाहिने फजुल खर्च हो ? यसको जवाफ दिनुपर्ने हुन्छ अर्थमन्त्रीज्यूले।