काठमाडौं- नेशनल क्यान्सर हस्पिटल र अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीको सहकार्यमा पाचौं अन्तर्राष्ट्रिय सम्मेलन (एनसीएचकन) सम्पन्न भएको छ। शनिवार काठमाडौंमा आयोजना गरिएको सम्मेलनलाई 'अपडेट्स अन अन्कोलोजी' नाम दिईएको थियो।
क्यान्सर रोग विशेषज्ञ तथा नेशनल क्यान्सर अस्पतालकी मेडिकल डिरेक्टर डा रश्मि पूनका अनुसार अस्पतालले सन् २०१६ देखि यस्तो सम्मेलन वार्षिक रुपमा गर्दै आएको थियो। कोरोना महामारीको कारण तीन वर्षयता भने सम्मेलन रोकिएको थियो। सोही सम्मेलनलाई फेरि निरन्तरता दिन थालिएको उनले बताइन्।
अघिल्लो पटकका सम्मेलनहरु कुनै एउटा क्यान्सर विशेष गर्ने गरे पनि अहिलेको सम्मेलन भने समग्र सबै क्यान्सरलाई समेटेर गरिएको डा सन्ध्या चापागाईंले बताइन्। 'यो सम्मेलनमा क्यान्सरमा नयाँ के के आयो, उपचार पद्दतिमा के के परिवर्तन भए भन्ने विषयमा चर्चा गरेका छौँ। विभिन्न क्यान्सरमा काम गरिरहेका विशेषज्ञहरुसंग छलफल गरेका छौँ,' उनले भनिन्।
त्यस्तै क्यान्सर रोग विशेषज्ञ डा मदन कुमार पियाले यस्ता सम्मेलनले चिकित्सकहरुलाई अपडेट बनाउने बताए। उनले पहिलेको तुलनामा अहिले नेपालमा क्यान्सर उपचारमा धेरै विकास भएको जनाए। नेपालमा नै क्यान्सर उपचार सम्भव र सहज भएको र दक्ष जनशक्तिहरु नेपालमै भएको उनले बताए।
सम्मेलनमा देशभरिका क्यान्सर रोग विशेषज्ञसहित करिब दुई सय स्वास्थ्यकर्मीहरुको उपस्थिति थियो।