काठमाडौं- धुम्वाराहीमा रहेको हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी प्रा.लि.(ह्याम्स अस्पताल) मा तीन महिने ‘क्रिटिकल केयर नर्सिङ तालिम’ सुरु भएको छ।
अस्पतालले क्रिटिकल केयर नर्सेज एसोसिएशन अफ नेपाल(सीसीनान्) संगको सहकार्यमा पिसिएल, बीएन, बीएस्सी पास गरेका नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त नर्सहरुका लागि आइतबारदेखि तीन महिने क्रिटिकल केयर प्रशिक्षण सुरु गरेको हो।
३० जनाको एक ब्याच हुने यस तालिममा ह्याम्समा क्रिटिकल केयर नर्स तालिम लिइरहेको यो चौठो ब्याच हो। यसअघि तिन ब्याचमार्फत लगभग ९० जना नर्सहरुले यो तालिम लिइसकेका छन्।
तालिम छनोटका लागी सुचाना प्रकाशन गरिएको र आवेदन आएकामध्ये परिक्षा तथा अन्तर्वाताका माध्यमबाट छनोट गरिएको हो।
तालिमको मुल उद्देश्य भनेको आईसियुका बिरामीलाई क्वालिटी केयर सर्भिस प्रदान गरी उनीहरुको जीवन रक्षा गर्नु रहेको अस्पतालका नर्सिङ डाइरेक्टर वरुणा पौडेले बताए।
तालिमले नर्सहरुको दक्षतालाई त निखार्छ नै संगै उचित उपचारको अभावमा अकालमै ज्यान गुमाउने बिरामीको संख्यालाई घटाउँदै उनीहरुमा देखापर्न सक्ने जोखिमलाई समेत न्युनिकरण गर्न मद्दत गर्ने ह्याम्स अस्पतालका पल्मोनोलोजि तथा क्रिटिकल केयर वभाग प्रमुख, वरिष्ठ चिकित्सक डा अर्जुन कार्किले बताए।
उक्त तालिम सीसीनानका तालिम प्राप्त प्रशिक्षकले प्रदान गर्ने छन्। सहभागीहरूले सीसीनानबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त सर्टिफिकेट पाउँछन्।
कार्यक्रमलाई सम्बोधन गर्दै ह्याम्सका अध्यक्ष आर एस भण्डारीले यो समयमा क्रिटिकल केयर नर्सिङ तालिमको आवश्यकता एकदमै महत्वपूर्ण रहेको बताए। उचित उपचार र स्वास्थ्य कर्मचारीहरुको आवश्यकतालाई मध्यनजर गर्दै ह्याम्सले समय–समयमा विभिन्न तालिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।