काठमाडौं- गण्डकी बोर्डिङ स्कुल पूर्वविद्यार्थी संगठन (एगबोसा)ले नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। हरेक वर्ष गरिने उक्त स्वास्थ्य शिविर असार २ गते काभ्रेको पाँचखालमा संचालन गरिएको संगठनका अध्यक्ष डा दिपक मल्लले जानकारी दिए।
यसअघि लुभु, छैमले, मार्फा र खोकनामा संगठनले स्वास्थ्य शिविर गरिसकेको छ। संगठनलाई स्वास्थ्य शिविरका लागि विभिन्न बैंक र औषधि कम्पनीहरुले सहयोग गरेका थिए।
स्वास्थ्य शिविरबाट ८५० जना बिरामी लाभावान्वित भएको महासचिव प्रतिष्ठा भण्डारीले बताइन्। शिविरबाट लाभ लिनेमा धेरैजना पाको उमेरको रहेको उनले बताइन्।
डा मल्लका अनुसार ७६० जनाको सुगर, ४४५ जनाको हेमोग्लोबिन, २२७ जनाको मुटुको जाँच, १०६ जनाको अल्ट्रासाउन्ड गरिएको छ। यसैगरी ४६ जनाको प्याप स्मेयर जाँच गरिएको छ।
महिलाको स्वास्थ्य समस्याको जाँच डा रिमा महर्जन मल्ल र डा ज्योत्सना शर्माले गरेका थिए। वीर अस्पतालका वर्तमा निर्देशक डा सन्तोष पौडेल र मिर्गौला रोग विशेषज्ञ डा अनिल बरालले समेत सेवा दिएका थिए। दुवैजना सोही बोर्डिङ स्कुलबाट एसएलसी पास गरेका विद्यार्थी हुन्।
जाँचका क्रममा धेरैजनामा छालारोगको समस्या देखिएको संगठनका कोषाध्यक्ष डा उदिप पराजुलीले बताए। उनका अनुसार मधुमेह, थाइरोइड, मिर्गौला बिग्रिन लागेको समस्या समेत पाइएको छ।
क्याम्पमा कम्युनिटी वेलनेस सेन्टर र किस्ट मेडिकल कलेजले समेत सघाएका थिए। यसैगरी न्युट्रिसनल रिह्याब सेन्टरले त्यसको महत्वबारे स्वयंसेविका र खाना पकाउनेहरुलाई जानकारी दिएको थियो भने स्विनले साइक्याट्रिक सेवा दिएको थियो।