मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरुमध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन। एक दशक यता नेपालमा अस्वस्थ्य नागरिक र रोगीहरुको संख्या डरलाग्दो किसिमबाट बढीरहेको छ। नयाँ नयाँ रोगहरु देखा परिरहेका छन्। सरकारी तथा निजी अस्पतालहरुमा धेरै प्रकारका रोगीहरुको भींड थामि नसक्नु छ।गरीब देश नेपालका अधिकांश रोगीहरु उपचार पाउन नसकेर मृत्युवरण गर्न बाध्य छन्। नयाँ नयाँ प्रकारका रोगहरु देखा परिरहेका छन्। केही रोगको त कारण समेत पत्ता लगाउन सकिएका छैनन्। यस्ता रोग र रोगीहरुको संख्यामा वृद्धिको कारण हाम्रो खानपान र खानपानको संस्कृतिमा आएको परिवर्तन हो।
भौतिक रुपमा विकसित भनिएका पश्चिमा मुलुकहरुको संस्कृति र सभ्यतालेअहिले नेपाली भान्सामा प्रभुत्व कायम गरिसकेको छ। नेपालमा अहिले यहाँको परम्परागत खानपान इतिहास भैसकेका छन्। नयाँ पुस्ताले स्थानीय जातको बिऊबाट उत्पादन भएका खाद्य वस्तु फलफूल परिकारको स्वाद नै लिन पाएका छैनन् र कतिपय खाद्यवस्तु र फलफूलहरु लोप भएकाले देख्नै पाएका छैनन्। पश्चिमी खानपानभन्दा पूर्वीय नेपालीको खानपान स्वस्थ्यकर हो तर अब त्यो रहेन।
अहिले विभिन्न प्रकारका खाद्यान्न, दलहन, तेलहन, तरकारी र फलफूलहरु कम जग्गामा;थोरै बिऊको प्रयोग गरेर, धेरै परिमाणमा उत्पादन गर्नर बेमौसममा पनि फलाउन वर्णशंकर बिऊ बिजनको खोज र विकास गरेर त्यसैको प्रयोग भैरहेको छ।खेतबारीमा, बोटमा र उत्पादित वस्तुहरुमा रासायनिक मल र कीटनाशक औषधिहरुको अन्धाधुन्ध प्रयोग हुन्छन्। विभिन्न किसिमका सब्जी र फलफूलहरु छिटो फलाउन, छिटै पकाउन, लामो समयसम्म ताजा र प्राकृतिक रुपरंगमा देखाउनको लागि किसिम किसिमका औषधि, सूइ तथा पाउडरहरु प्रयोग हुन्छन्। यस्ता उत्पादनहरुमा प्राकृतिक स्वाद पटक्कै हुंदैन, पेट भर्ने काममात्र हुन्छ।मल र औषधिको खराब असर मानिसलाई पर्ने नै भयो।
वर्णशंकर मुर्रा जातका भैंसी, जर्सी जातका गाईहरु र ब्वोयलर जातका कुखुराले स्थानीय जातका गाई, भैंसी र कुखुरालाई विस्थापित गरिसके।यिनीहरुलाई हुर्काउन विभिन्न किसिमका सुइ र औषधिहरु दिइन्छन्। यस्ता पशुपंछिबाट उत्पादित दुध, घ्यू र माशु खानु भनेको पैसा र स्वास्थ्य बर्बादी गर्नुमात्र हो। नेपालमा ५० वर्ष अघिसम्म गुड र सख्खरको प्रयोग धेरै हुन्थ्यो। यिनमा प्रशस्त भिटामिन र खनिज पदार्थ हुन्छन्। अहिलेको पुस्ताले यी वस्तुहरु देखेका छैनन्। सट्टामा चिनीको प्रयोग भैरहेका छन् जुन रोगको घर हो। त्यसैगरि गहुंको खस्रो पीठोको सट्टामा मसिनो गरि पिसेको पीठो र मैदाको प्रयोग अत्यधिक हुने गरेको छ। पोलिश गरिएका र बेस्वादका चामल र दालहरु बजारमा पाइन्छन्।
स्थानीय तोरीको शुद्ध तेलको उपयोग १० प्रतिशत जतिलेमात्र गर्छन्। किनभने अधिकांश पसलमा शुद्ध तोरीको तेल पाइदैन।भटमाश, सूर्यमुखी, मकै आदि वस्तु यद्यपि राम्रा हुन् तर यिनीहरुबाट रिफाइन्ड र डबल रिफाइन्ड गरिएका खाने तेलमात्र बजारमा पाइन्छन्।आलस, तिलजस्ता वस्तुहरु बजारमा पाइन छाडिसकेका छन्।वनस्पति घ्यूकोपनि अत्यधिक प्रचलन रहेको छ।यस्ता वस्तुहरु स्वास्थ्यकोलागि अत्यन्तै हानिकारक हुन्छन्।
अहिले ९० प्रतिशतभन्दा बढी नेपालीको भान्छामाप्रेशर कुकरको उपयोग हुन्छ। पितल, कांसका भांडा पूर्ण रुपमा विस्थापित भैसकेको अवस्था छ। प्रेशर कूकरमा खाना पकाउँदा वाफको व्यापक दवाव परेर खाना फतक्क गल्छ तर राम्रोसित पाकेको हुँदैन।पिउने पानी राख्नको लागि माटाका घैंटा, सुराही, पितल र तामाका गाग्रीको उपयोग हुन्थे जसमा राखेको पानी प्राकृतिक रुपमै शुद्धिकरण हुन्थे। अचेल प्लाष्टिक, अल्मुनियम आदि मानव स्वास्थ्यको लागि हानिकारक धातु र वस्तुको उपयोग हुने गरेका छन्। पानी शुद्ध गर्ने भनेर विभिन्न किसिमका महंगा फिल्टरहरु भान्छामा प्रयोग गरिन्छन् जसबाट पानीमा हुने प्राकृतिक गुणहरु नष्ट भएका हुन्छन्। फ्रिजमा राखिएका पानी, तरकारी र विभिन्न खानेकुराहरु पनि रोगविशेषगरि पेटसम्बन्धी रोगहरु लाग्ने कारक हुन्। ननस्टिकर भांडाबर्तनहरु, माइक्रो ओभनजस्ता भाडाको उपयोग खाना पकाउन र तताउन उपयोग गरिन्छन्। अल्मुनियम फोयलको उपयोग खाना प्याकिङ गर्न र तातो गरेर राख्नको लागि उपयोग हुन्छन्। यस्ता वस्तुहरुबाट पेट, छाला सम्बन्धी रोगकासाथै क्यान्सर रोग लाग्ने संभावना अधिक हुन्छ।
अचेल तेल निकालिएर खोस्टा भएको तिल, ल्वाङ आदि वस्तुको उपयोग हुन्छन्। गहुं, मकै वा कोदोको रोटी,भुटेको मकै,चिउरा, चना, भटमाश, भिजाएको वा तारेको चना / केराऊ, भुटेको चामल ( यसलाई पश्चिम पहाडतिर खट्टे भनिन्छ ) जस्ता खाजाका वस्तुहरुलाई चाऊचाऊ, बिस्कुट, कुकिजजस्ता वस्तुहरुले चलनचल्तीबाट हटाई सकेका छन्। ऊखुको रस, बेलको शर्बत, गुड वा मिश्री वा सौंफको शर्बतजस्ता स्वास्थ्यवर्द्धक पेय पदार्थहरुको जानकारी अहिलेको पुस्तालाई छैन। मोही पिउने चलन पनि छैन।कोक, फैन्टा, स्प्राइट वा आंप, लिचि, अनार लगायतका स्वाद भएका पेय पदार्थ बजारमा पाइन्छन्।
भूईमा बसेर खाना खाँदा स्वास्थ्यको लागि लाभदायक प्रमाणित भएको छ तर भान्सामा डाइनिङ टेबल छैन भने ईज्जत गएको मानिन्छ। सानोतिनो खुशीको अवसर खोजेर वा मनोरन्जनको लागि होटल तथा रेष्टुरांहरुमा खान जाने संस्कृति जंगली झारझैं मौलाएको छ। मुनाफाको लागि व्यवसायीले मिसावटयुक्त, कम गुणस्तरीय तथा अखाद्य वस्तु मिसाएर पकाउने हुँदा यस्ता भोजन मानिसको स्वास्थ्यको लागि हानिकारक हुन्छन्। उहिले घरमा बुढापाकाले मात्र घरमा रक्शी पिउंथे, अन्य सदस्यले पिउंथेनन्। पिउनेले पनि लुकेर पिउंथे। अहिले बुढा, बुढी, छोरा, बुहारी, छोरी, नाति, नातिनीर पाहुना आएका रहेछन् भने उनिहरुसमेत सबै एकसाथ बसेर आ आफ्नो रुची अनुसारको ब्राण्डको रक्शी, बियर,वाइन पिउँछन्। यस्तोलाई सभ्य परिवार भन्ने गरिएको छ। धेरै रोगहरुको जननी यो आयातित संस्कृति हो।
अहिले अमेरिका, अष्ट्रेलिया तथा जर्मनी, फ्रान्स , डेनमार्क लगायतका युरोपीय मुलुकहरु जसलाई आधुनिक र विकसित मुलुक भन्ने गरिन्छन्, ती मुलुकहरुमा क्यान्सर, मुटुसम्बन्धी र मानसिक रोग लगायत विभिन्न किसिमका जटिल रोगीहरुको संख्या अत्यधिक हुनुको कारण खानपानसम्बन्धी गलत संस्कृति हो।
अंग्रेजले छिमेकी भारतमा आक्रमण गरि आधिपत्य जमाएपछि उनिहरुले तीब्र गतिमा पूर्वीय सभ्यता र संस्कृतिको विनाश गरे। उतैका उत्पादन,सभ्यता र संस्कृति भारतमा ल्याए। पश्चिमी सभ्यता र संस्कृतिको प्रचारप्रसार गरे। त्यसको प्रभाव नेपालमा पनि पर्यो। अहिलेको विश्व व्यापार र बजारीकरणको युगमा हाम्रो आफ्नो भन्ने वस्तुको बिऊ बाँकी राखेका छैनौं।
सारमा भन्नुपर्दा हामीले हाम्रो देशमा पाइने गरेको खाद्यान्न, दलहन, तेलहन, तरकारीहरु, फलफुलहरुको जगेर्ना र प्रचारप्रसार गर्नु आवश्यक भईसकेको छ। आफ्नै देशको माटो अनुकूल आफ्नै स्थानीय बिऊ, श्रम र शीप र वस्तुहरुको उपयोग गरेर उत्पादन गर्नुपर्छ। माटो र मानव स्वास्थ्यको लागि हानिकारक हुने रासायनिय मल र विषादीहरुको सट्टा प्रांगारिक र जैविक मलको उपयोग गर्नुपर्छ। परम्परागत भांडाकुंडाहरुको महत्व बुझेर फेरि उपयोग गर्नुपर्छ। हाम्रा पुरानै परंपरा र संस्कृतिको पुनरूत्थान गरौं। यसबाट हामीलाई पूर्णरुपमा परनिर्भर बनाउने बलियो पासोबाट जोगिनेमात्र होइन हामी सबै नागरिकको स्वास्थ्य अवस्था धेरै राम्रो हुनेछ। अब ढिलो नगरौं, समयमै सबैले चेतौं।
(लेखक अवकाशप्राप्त कर्मचारी हुन्।)