काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम ल्याएको छ। महानगरपालिकाका मेयर बालेन शाहले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
सार्वजनिक नीति तथा कार्यक्रममा स्वास्थ्यलाई गौरवको आयोजना र स्वर्णीम योजनामा राखिएको छ। सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा गौरवको योजना अन्तर्गत महानगरवासीहरुमा सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सबै सहरी स्वास्थ्य क्लिनिकहरूको स्तरोन्नति गरी सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा रूपान्तरण गरिने विषय रहेको छ।
यस्तै, सुलभ फार्मेसी स्वर्णीम योजना सञ्चालनमा ल्याउने विषय पनि नीति तथा कार्यक्रममा रहेको छ। 'महानगरपालिका क्षेत्रभित्र एक निर्दिष्ट नगर अस्पताल स्थापना गरी सञ्चालनमा ल्याइनेछ। निजी तथा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी स्वर्णीम योजना सञ्चालनमा ल्याई महानगरवासीलाई औषधि खरिदमा सहुलियत दिइनेछ,' स्वर्णीम योजनाका विषयमा भनिएको छ।
हेरौं नीति तथा कार्यक्रममा रहेका स्वास्थ्यका विषय
स्वास्थ्य सम्बन्धी कार्यनीति
१. सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा गौरवको योजना अन्तर्गत महानगरवासीहरुमा सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सबै सहरी स्वास्थ्य क्लिनिकहरूको स्तरोन्नति गरी सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा रूपान्तरण गरिनेछ।
२. महानगरका लक्षित वर्गका लागि स्वास्थ्य बिमा सम्बन्धी कार्यविधी तयार गरी कार्यक्रम सञ्चालन गरिनेछ।
३. महानगरपालिका क्षेत्रभित्र एक निर्दिष्ट नगर अस्पताल स्थापना गरी सञ्चालनमा ल्याइनेछ। निजी तथा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी स्वर्णीम योजना सञ्चालनमा ल्याई महानगरवासीलाई औषधि खरिदमा सहुलियत दिइनेछ।
४. प्रचलित कानुन तथा मापदण्ड बमोजिम विपन्न र असहाय विरामीले पाउने निशुल्क तथा विशिष्ट सहुलियत सहितको स्वास्थ्य सेवा तथा अन्य स्वास्थ्य सेवाको लागि महानगरपालिका क्षेत्रभित्रका अस्पतालहरुसँग समन्वय र सहकार्य गरिनेछ।
५. आरोग्य जीवनका लागि फिजिकल हेल्थ, मेन्टल हेल्थ, ध्यान, योग चिकित्साजस्ता वैकल्पिक उपचार पद्दतिका कार्यक्रमहरू अन्य सम्वद्ध पक्षसँगको सहकार्यमा सञ्चालनमा ल्याइनेछ। पूर्वीय दर्शन शिक्षा, परम्परागत आयुर्वेदिक उपचार पद्दति प्रवर्धन तथा हेल्थ टुरिजम जस्ता कार्यहरूलाई प्रोत्साहित गरिनेछ। नेपालमा उत्पादित जडिबुटीहरूको प्रशोधन केन्द्र सञ्चालनमा सहयोग गरी सिंहदरवार बैद्यखाना र नरदेवी आयुर्वेदिक अस्पतालसँग सहकार्य गरिनेछ।
६. काठमाडौं महानगरपालिकाबाट आर्थिक, प्राविधिक तथा अस्पतालजन्य उपकरण वा सहायता उपलब्ध गराइएका अस्पतालहरुसँग समन्वय गरी स्थानीय विपन्न र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने महानगरवासीका लागि निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रबन्ध गरिनेछ। सामुदायिक अस्पतालको स्तरन्नोतिको लागि सहयोग गरिनेछ।
७. क्यालोरीमा आधारित उपभोग प्रणाली लागु गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
८. काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२ हटलाइन) लाई निरन्तरता दिइनेछ।