काठमाडौं- काठमाडौं उपत्यकाभित्रमा तीन ठूला प्रमुख अस्पतालहरु वीर, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा छालाका समस्या लिएर उपचारका लागि पुग्ने बिरामीमध्ये सबैभन्दा धेरैमा एक्जिमाको समस्या रहेको पाइएको छ।
स्वास्थ्यखबरले अस्पतालको छाला विभागसँग लिएको तथ्यांकलाई केलाउँदा यी तीन अस्पतालमा सबैभन्दा धेरै एक्जिमा र त्यसपछि क्रमश फंगल इन्फेक्सन, डन्डिफोर, चाया पोतो, एलर्जी र ब्याक्टेरियल संक्रमणका बिरामी रहेका छन्।
एक्जिमा के हो?
एक्जिमा आम रुपमा देखिने छालासम्बन्धी प्रमुख समस्या हो। बाहिरी छालामा देखिने समस्या एक्जिमा हो। एक्जिमा आफैँमा बृहत शब्दकोष हो। यस अन्तर्गत विभिन्न समस्याहरु पर्छन्। छालामा जलन, रातोपना, चिलाउने, अति सानो फोका र डल्लो आउने, अलिअलि पानी बगिरहने, छाला कडा हुने जस्तो समस्या हुन्छ।
वीर अस्पतालमा आउने करिब २ सय जना बिरामीमध्ये ८० जनामा एक्जिमाको समस्या हुने गरेको छाला तथा यौन रोग विभागकी प्रमुख प्राडा अनुपमा कार्की बताउँछिन्।
एक्जिमाको समस्या व्यक्तिअनुसार फरक पर्ने बताउँदै उनले भनिन्, ‘साबुन, सर्फ, माटो लगातार छुनुपर्ने व्यक्तिमा हातमा एक्जिमा हुन्छ। कसैलाई कागज, चक, कसैलाई कानमा लगाउने टपले एलर्जी हुन्छ। त्यो पनि एक्जिमा अन्तर्गत नै पर्छ।’
प्रायः बिरामीहरु दाद वा एलर्जी भएको भन्दै अस्पताल पुग्छन्। छालालाई सकेसम्म सुख्खा हुन नदिन उनको सुझाव छ। एक्जिमाको कारण व्यक्ति अनुसार फरक हुने भएकाले कारण पत्ता लगाएर नै उपचारमा जानुपर्ने उनी बताउँछिन्।
त्रिवि शिक्षण अस्पतालमा पनि एक्जिमा पहिलो नम्बरमै पर्छ। दैनिक पुग्ने २ सयदेखि ३ सय जना बिरामीमध्ये करिब १५ प्रतिशत बिरामी एक्जिमाकै हुन्छन्। त्रिवि शिक्षण अस्पतालको छाला रोग विभागका प्राडा द्वारिका श्रेष्ठका अनुसार एक्जिमा धेरै प्रकारको भए पनि ‘कन्ट्याक्ट डर्माटाइटिस’ सबैभन्दा आम समस्या हो। कुनै वस्तुको सम्पर्कमा आउने बित्तिकै छालामा एलर्जी गर्ने, चिलाउने समस्या हुन्छ।
‘एक्जिमाको रोकथाम भनेकै जुन कुराले एलर्जी गराउँछ। पहिचान गरेर त्यो वस्तुबाट टाढा बस्नु नै हो,’ उनले भने।
कतिपय व्यक्तिलाई वंशाणुगत कारणले गर्दा पनि एक्जिमाको समस्या हुन्छ। यो समस्या सानै उमेरदेखि पनि हुन सक्छ। सामान्य एक्जिमा एलर्जी गराउने वस्तुको सम्पर्कबाट टाढा रहँदा ठिक हुन्छ। तर जटिल खालका एक्जिमाका लागि भने छाला रोग विशेषज्ञसँगको परामर्शमा औषधि नै खानुपर्ने डा श्रेष्ठ बताउँछन्।