कञ्चनपुर- दोधारा चाँदनी अस्पतालमा शल्यक्रियाबाट प्रसूति गराउने सेवा सुरु भएको छ। अस्पतालमा मंगलबार पहिलो पटक शल्यक्रियाबाट एक महिलाले शिशु जन्माएकी छिन्।
अस्पतालमा पहिलो पटक शल्यक्रियाबाट सन्तान जन्माउने महिला दोधारा चाँदनी नगरपालिका ६ की २० वर्षीया सुनिता सुनार हुन्। सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी उनको प्रसूतिमा जटिलता देखिएपछि शल्यक्रिया गरिएको डा पवनकुमार साहले जानकारी दिए।
साहका अनुसार शल्यक्रियामा उनीसहित डा मोहम्मद आशिक मन्सुर, डा जयनन्दन साह, एनेस्थेसियामा कमल जोशी र नर्सहरु दीपा श्रेष्ठ र सबिना पुरकुटीको टोली थियो।
शल्यक्रियापछि शिशु र आमा दुवैको स्वास्थ्य सामान्य रहेको उनले जानकारी दिए।
नगरपालिका र स्वास्थ्य सेवा विभागको सहकार्यमा शल्यक्रिया सेवा सुरु भएको हो। नगर प्रमुख किशोर लिम्बुले यसै साता शल्यक्रिया कक्षको उद्घाटन गरेका थिए।
अस्पातालमा एक जना एमडिजीपी र तीन जना मेडिकल अधिकृत कार्यरत छन्। यसैगरी प्रसूति शल्यक्रियाका लागि तालिमप्राप्त जनशक्ति तयार गरिएको अस्पतालले जनाएको छ।