सुन्दरता अरुलाई देखाउनका लागि भन्ने मान्यता थियो कुनै बेला। तर अहिले आफ्नै आत्मविश्वासको स्रोत समेत बन्न थालेको छ। त्यसैले आफ्नो आवरणलाई चुस्त–दुरुस्त राख्न चाहनेहरु उपाय खोज्दै अनेक ठाउँ धाइरहेका हुन्छन्। सौन्दर्यसँग जोडिएका विषयको समाधान खोज्न आमजन जाने पहिलो स्थान ब्युटीपार्लर बनेका छन्, जुन शारीरिक समस्याको समाधानका लागि खुलेका होइनन्। त्यस्ता पार्लरहरु औषधि–उपचार गरेर स्थायी समाधान खोज्न होइन, ढाकछोप गरेर अस्थायी उपायका लागि चलाइएका हुन्। अनुहारको मेकअप गर्ने, कपालको अनेक डिजाइन बनाउने, छालाको माथिल्लो भागहरु, कपाल र नङको स्याहार गर्ने काम ती संस्थाहरुको हो। यसैगरी कपालमा ट्रिमिङ गर्ने वा काट्ने, आइब्रो थ्रेडिङ गर्ने, शरीरमा भएको रौं वाक्सिङ गर्ने अभ्यास ब्युटिपार्लरले गर्न सक्छन्। अर्थात् जहाँसम्म रगत बग्ने अवस्था बन्दैन, त्यस्तो अवस्थासम्म ब्युटिसियनले काम गर्न पाउँछन्।
मानव शरीरको जुनसुकै भाग (भित्री वा बाहिरी) मा आउने समस्या भने नितान्त स्वास्थ्यसँग सम्बन्धित हुन्छ। त्यसको सुरक्षित समाधानकर्ता चिकित्सा विज्ञान पढेका मात्रै हुन्। पुग्नुपर्ने ठाउँ स्वास्थ्य संस्था मात्रै हुन्। तर अचेल ब्युटिपार्लरहरुले पनि सामान्य जानकारीका भरमा औषधि दिने र उपाचारजन्य कामहरु गर्ने गरेको पाइएको छ। छालाको दाग हटाउने, चाया–पोतो फाल्ने, अनुहार चम्किलो बनाउने, कोठी हटाउने, चाउरीपना हटाउने भन्दै विभिन्न नाम र ब्रान्डका औषधिहरु बेच्ने गरेका छन्। चिकित्सकको प्रेस्काइबमा मात्र प्रयोग गर्न मिल्ने संवेदनशील औषधि समेत आफूलाई सौन्दर्य विज्ञ भन्नेहरुले दिने गरेका छन्।
स्टेरोइडको जथाभावी प्रयोग गरिएका कारण छाला पातलको हुने, रगतको नशाहरु देखिने, डन्डिफोर आउने, मुखमा रौंहरु आउने, मुख निलो–कालो हुने, थोप्ला–थोप्ला हुने जस्ता समस्या लिएर चिकित्सककहाँ पुग्ने बढेका छन्। कतिपय अवस्थामा छालाजन्य समस्याको औषधि जथाभावी प्रयोग गरेर भित्रसम्म असर गर्दै मधुमेहको समस्या हुने र हड्डी भाँचिने समस्या समेत हुने गरेको देखिएको छ। यसैगरी बजारमा अहिले चाउरिएको छाला तन्काउन बोटक्सको प्रयोग निकै बढेको छ। बोटक्स इन्जेक्टेबल (सुईजन्य) उपचार भएकाले चिकित्सकबाहेक अन्य व्यक्तिले बिरामीमा प्रयोग गर्न हुँदैन। त्यस्तै अन्य सुईजन्य कामहरु फिलर, प्लेटलेट रिच प्लाज्म (पीआरपी), कोठी निकाल्ने काम पनि ब्युटीपार्लहरुबाट गरिनु हुँदैन।
ती काम कानुनी रुपमा अवैध हुन् भने व्यावहारिक रुपमा अर्काको ज्यानमाथिको खेलबाड हो। विभिन्न समस्याको समाधानका लागि चिकित्सकीय विधि नजानेका उनीहरुका कारण समस्या आउने क्रम बढ्दो छ। छाला रोग विशेषज्ञकोमा पुग्ने १०० मा १५ जना गलत औषधि र प्रयोगका कारण समस्या बल्झिनेहरु रहेका छन्।
त्यस्ता ठाउँमा समाधान खोज्दा १० दिन अनुहार चम्किलो देखिने तर त्यसपछि साइड इफेक्ट सुरु भएर जीवनभर पछुताउनेहरुको संख्या बढ्दो क्रममा रहेको छ। यसरी आजित भएकाहरुले आफ्नो स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै नेपाल मेडिकल काउन्सिल लगायतका संस्थामा उजुरी समेत हाल्न थालेका छन्। उजुरीमाथि उचित छानबिन गरेर कारबाही गर्नुका साथै यस्ता संस्थाको नियमित अनुगमन गर्नु सरकारको दायित्व हो।
सरकारले यो क्षेत्रमा आवश्यक ध्यान नदिँदा ठगिने मात्रै होइन, स्वास्थ्य समस्या समेत भोग्ने गरेका छन्। त्यसैले सौन्दर्यका नाममा हुने यस्ता खराब अभ्यासलाई रोक्नुपर्ने दायित्व सरकारको हो। यस्ता अभ्यासलाई नियमन गर्ने उचित कानुन बनाउनुका साथै गुनासो सुन्ने व्यवस्था गरिनुपर्छ, जसले सुन्दर बन्ने अपेक्षा बोकेर त्यस्ता ठाउँमा पुगेकाहरु झन् कुरुप बन्नु नपरोस्। पहिलो दायित्व स्वयं उपभोक्ता आफ्नै हो। जसले चिकित्सा विज्ञानको ज्ञान नभएकाहरुलाई आफ्नो शरीर प्रयोगशाला बनाउन दिनु हुँदैन। छालासँग सम्बन्धित रहेका हरेक समस्याको समाधान स्वास्थ्य संस्थाबाटै खोज्नुपर्छ। फेसनजन्य कार्यका लागि त्यस्ता संस्थामा पुग्नुपर्छ। यति ख्याल गरियो भने सानो गल्तीबाट हुने ठूलो हानिबाट आफूलाई जोगाउन सकिन्छ।