काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ। बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। उनी ६९ वर्षकी थिइन्।
उनको उपचारमा संलग्न प्रा डा युवराज शर्माले बिहान ८ बजेर ३३ मिनेट जाँदा उनको निधन भएको घोषणा गरेका थिए।
लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो।
‘उहाँको हेरचाह गर्ने नर्सिङ स्टाफ हुनुहुन्छ। उहाँले अचानक फोन गर्नुभयो। मैले तुरून्तातुरून्तै नर्भिकको इमरजेन्सी टिमलाई खबर गरें। म बालुवाटार पुगें। त्यहाँ अक्सिजनको मात्रा हेर्दै थिएँ। नर्भिकबाट इमरजेन्सीको टोली पनि पुग्यो। हामीले त्यहाँ अक्सिजन, इन्जेक्सन आदि लगाएर, दौडाएर अस्पताल ल्यायौं,’ शर्माले भने, ‘यहाँ ल्याउँदा ८ बजेको थियो। उहाँ पहिलेदेखि नै नसासम्बन्धी दीर्घ रोगी हुनुहुन्थ्यो। दिमागको नसा सुक्दै जाने, खुम्चने हुन्छ। सँगसँगै उहाँलाई डायबेटिज, हाइपरटेन्सन, उच्च रक्तचाप पनि थियो।’
उनी विगत २ वर्षदेखि अचेत अवस्थामा थिइन्। उनले आफ्ना श्रीमान प्रचण्ड प्रधानमन्त्री भएको समेत थाहा पाइनन्।
दाहाल लामो समयदेखि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी)बाट ग्रसित थिइन्। केही वर्षदेखि उक्त रोगसँग जुझिरहेकी सीताको नेपालका साथै अमेरिका र भारतका विभिन्न अस्पताल पुर्याएर उपचार गरिएको थियो।
तर, विश्वका नाम चलेका अस्पतालमा उपचार गर्दा समेत उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएन। नेपालका स्नायुरोग विशेषज्ञहरुले दिएको जानकारी अनुसार यो एक मस्तिष्कमा लाग्ने रोग हो। जसलाई विश्वको चिकित्सा विज्ञानले पूर्ण रुपमा निको पार्ने उपाय अझै पत्ता लगाइसकेको छैन।
मस्तिष्कका विभिन्न रोग तथा समस्याहरुमध्ये प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) पनि एक हो। यो रोग निकै कम मानिसमा देखिने गर्दछ। तर, पछिल्लो समयमा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेसँगै पिएसपीको समस्या भएका बिरामीसमेत आउन थालेका छन्।
ग्रान्डी अस्पतालका कन्सलट्यान्ट न्युरोलोजिस्ट डा राजु पौडेलका अनुसार सामान्यतय झट्ट हेर्दा पिएसपीको अधिकांश लक्षण मष्तिष्कको अर्को रोग पार्किन्सन्ससँग धेरै मिल्दोजुल्दो हुन्छ। तर, यो समस्या पार्किन्सभन्दा फरक हो।