मायाटार- चितवनको इच्छाकामना गाउँपालिकाले पालिकाको पहाडी भेग वडा नं २ को मायाटारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र संचालनमा ल्याएको छ। बिहिबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले स्वास्थ्य केन्द्रको नवनिर्मित भवन समुद्घाटन गर्दै सेवा सुभारम्भ गरिएको छ। स्वास्थ्य केन्द्रको शुभारम्भमा एक वृद्धाको स्वास्थ्य जाँच गरिएको थियो।
स्वास्थ्य इकाई केन्द्रको समुद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले पालिकाका सबै नागरिकलाई आधारभुत स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने अभियान अन्तरगत मायाटारमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको स्थापना गरिएको बताए। ‘यस सामुदायिक स्वास्थ्य इकाई केन्द्रबाट साविकको चण्डीभञ्ज्याङका ४ वटा वडा र साविकको काउलेको ५ वटा वडामा नागरिकहरु लाभान्वित हुनेछ’ उनले भने। यहाँबाट जुनसुकै किसिमका न्युनतम आधारभुत स्वास्थ्य सेवा प्रदान हुने अध्यक्ष गुरुङको भनाई छ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य अधिकृत हरि देवकोटाका अनुसार मायाटारमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएसगैँ इच्छाकामनामा स्वास्थ्य संस्थाको संख्या १२ पुगेको छ। ५ वटा स्वास्थ्य चौकी सहित, आधारभुत स्वास्थ्य इकाई र सामुदायिक स्वास्थ्य इकाई गरि १२ वटा स्वास्थ्य संस्था रहेका छन्।
गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि स्थानीयहरु भने खुसी भएका छन्। यहाँका स्थानीयहरु सामान्य चोटपटक लाग्दा समेत २÷३ घण्टा हिडेर काउले वा चण्डीभञ्ज्याङ जान बाध्य थिए।