काठमाडौं- राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा जागेश्वर गौतमले महासचिव डा पुष्पमणि खरालले राजिनामा दिएपछि एउटा संगठन छाडेर अर्कोमा जानु व्यक्तिको अधिकार भएको प्रतिक्रिया दिएका छन्।
उनले खराललाई विगतदेखि मौका परस्त गतिविधि गर्दै आएको समेत बताएका छन्। उनले डा खरालको अलग हुने निर्णय आकस्मिक नभएको समेत दाबी गरेका छन्। डा पुष्पमणि खरालले संगठनको महासचिव र पार्टीका जिम्मेवारीबाट आइतबार राजीनामा दिएका थिए।
गौमतको टिप्पणी यस्तो छ:
राष्ट्रिय चिकित्सक संघ, नेपालका पूर्व महासचिव डा पुष्पममणि खरालले पदबाट राजिनामा दिएर संघबाट अलग हुने जुन निर्णय लिनु भएको छ, त्यो आकस्मिक थिएन । उहाँको बिगतलाई हेर्दा पटक पटक मौका परस्त गतिविधि गरिरहनु भएको हामी सबैलाई जानकारी नै छ।
कार्यकर्ताको मूल्यांकन छोटो समयमा हुन सक्दैन। गत अधिवेशनमा वहाँ अध्यक्षको पद जसरी पनि हत्याउने प्रयत्नमा रहेकोले उक्त कदम संघको निम्ति प्रत्युत्पादक हुने महसुस गरि सिनियर साथीहरुको आग्रहमा मैले धेरै इच्छा नराख्दा नराख्दै पनि अभिभावकीय भूमिकाको निम्ति अध्यक्ष पदमा उम्मेदवारी दिएको थिएँ।
मेरो ४४ वर्ष लामो राजनैतिक आबद्धताले सिकाएको के छ भने इमानजमान नछोडी इमानदारीपुर्वक काम गर्यो भने अवस्य सफल भईन्छ, समाजलाई केही दिन पनि सकिन्छ। सफल हुनु भनेको आफू मात्र होइन समाज र राष्ट्रले कति योगदान पायो भन्ने नै हो। एउटा सङ्गठन छाडेर अर्कोमा जानु व्यक्तिको अधिकार नै हो तर त्यो देश र जनताको हितमा हुनु पर्दछ।
वहाँले रा चि संघमा रहेर गरेको कामको लागि धन्यवाद दिन चाहन्छु, अबको वहाको राजनैतिक यात्रा सफल रहोस भन्ने शुभकामना पनि व्यक्त गर्दछु।
कालान्तरमा फेरि राजनैतिक भेट हुने नै छ, किनभने समय अत्यन्तै बलवान् हुन्छ नै।
भेट हुने र बिदा लिने सामान्य प्रकृया भएकोले राष्ट्रिय चिकित्सक संघ, नेपालका साथीहरुलाई सम्यमित भै आफ्नो काममा डटेर लाग्न निर्देशन समेत दिन चाहन्छु ।
यो पनि
राष्ट्रिय चिकित्सक संघका महासचिव डा खरालले दिए राजीनामा