नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिका–४ मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र शुभारम्भ गरिएको छ। प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज संयुक्तरूपमा सो केन्द्रको शुभारम्भ गरे।
सो अवसरमा सांसद राठौरले नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको स्वास्थ्य प्रवर्द्धनका लागि सराहनीय कार्य गरेको उल्लेख गर्दै नेपालगञ्ज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको ‘मेडिकल हब’ भए पनि नागरिकले सोचेअनुरुप सेवा पाउन नसकेको बताए।
स्वास्थ्य सेवाको स्तरवृद्धिका लागि तीन तहका सरकार गम्भीर ढङ्गले लाग्नुपर्ने आवश्यकता औँल्याउँदै उनले संविधानले नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा पाउने अधिकारलाई संरक्षण र संवर्द्धन गरेकाले स्थानीय सरकारले कामलाई प्राथमिकीकरण गर्न आग्रह गरे।
नगर प्रमुख विष्टले नागरिकलाई रोग लाग्नै नदिने गरी योजना बनाउन आवश्यक रहेको उल्लेख गर्दै सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले त्यस कार्यमा अहम भूमिका खेल्ने विश्वास व्यक्त गरे। स्वस्थ मानिसले मात्र आफ्नो दैनिकी स्वस्थ ढङ्गले अघि बढाउन सक्ने भन्दै उनले स्वस्थ नागरिक तयार गर्न प्रवर्द्धनात्मक कार्यक्रममा अगाडि बढाउने बताए।
नगर उपप्रमुख कमरुद्दिन राईले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट भेरी अस्पतालभन्दा सस्तो र सुलभ शुल्कमा सेवा प्रदान गरिने जानकारी दिए। उनले गरिब र दुःखीका लागि निःशुल्क सेवा प्रदान गर्ने गरी केन्द्र अगाडि बढ्ने विश्वास दिलाए।
वडा नं ४ का वडाअध्यक्ष गोपाल पुनले २३ वडालाई कार्य क्षेत्र बनाएर सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले काम गर्ने जानकारी दिए। उनले यसलाई आयुर्वेदिक उपचार केन्द्रका रुपमा विकास गर्ने लक्ष्यसमेत राखिएको सुनाए।
स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले प्रवर्द्धनात्मक स्वास्थ्य सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरिएको उल्लेख गरे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिनकुमार आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, एमडिएम फ्रान्सका कन्ट्री डाइरेक्टर अब्दुल सबुर खानले स्वास्थ्य क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
.
यसैबीच नेपालगञ्ज उपमहानगरले आजदेखि नै निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ। त्यसका लागि तीन थान एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ।