काठमाडौं- वीर अस्पतालमा दरबन्दी बेगरका ९१ जना कर्मचारी कामकाजमा खटिएका छन्। उनीहरु संघ, प्रदेश र स्थानीय तहका विभिन्न स्वास्थ्य संस्थामा दरबन्दी भएका कर्मचारी हुन्।
पहुँच, अदालतको आदेश र मेडिकल बोर्डको सिफारिस बनाएर उनीहरु लामो समयदेखि वीर अस्पतालमा कामकाज गरिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बाहिर रहेका यस्ता कर्मचारीलाई कर्मचारी समायोजन ऐन २०७५ अनुसार स्थानीय तह, प्रदेश तथा संघका विभिन्न स्वास्थ्य संस्थामा समायोजन, पदस्थापना, सरुवा तथा कामकाज गर्न खटाइएका कर्मचारीलाई तोकिएको स्थानमा खटाउन निर्देशन दिएको थियो।
स्वास्थ्य मन्त्रालयभन्दा पहिला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाख २७ गते परिपत्र गरी समायोजन, पदस्थापन, कामकाज तथा सरुवा भएका कर्मचारीलाई रमाना दिइ सो को जानकारी ७ दिनभित्र दिन भनेको थियो।
सोही अनुसार वीरले कर्मचारीलाई पत्र काटेर रमाना लिन भनेको थियो। तर कर्मचारीहरुले भने पत्र बुझ्नै अटेर गरिरहेका छन्।
स्वास्थ्य मन्त्रालयको एक साताअघिको निर्देशनपछि वीर अस्पतालले साउन १ गतेको हाजिर समेत काटेको छ। तर पनि उनीहरु हाल वीर अस्पतालमै कार्यरत छन् । सतर्कता केन्द्रले पनि समायोजन भएको ठाउँमा नगएका कर्मचारीले खाईपाई आएको तलब भत्ता असुल उपर गर्न २०७९ फागुन ८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको थियो।
९१ जनामध्ये १२ जना कर्मचारीले मेडिकल बोर्डबाट स्वास्थ्य समस्या रहेको रिपोर्ट बनाएर बसेका छन्। सोही आधारमा ती स्वास्थ्यकर्मीहरुलाई समायोजन ऐन २०७५ को दफा ८ को उपदफा ४ बमोजिम संघमै पुल दरबन्दीमा राखि वीर अस्पतालमा कामकाजका लागि खटाइएको थियो।
अहेब डिल्लीराम खनाल, टिकाराम पनेरु, युवराज सुवेदी, डिल्ली आचार्य, जीवनकुमार श्रेष्ठ, युवराज तिमल्सिना, सविता जोशी, शंकर झा लगायतले मेडिकल बोर्डको सिफारिसका आधारमा वीरमा कामकाज गरिरहेका हुन्। उनीहरुको स्वास्थ्य परीक्षण पुन: गरी बोर्डले सिफारिस गर्नुपर्ने उजुरी स्वास्थ्य मन्त्रालयमा परेको छ।
यस्तै केही कर्मचारी भने अदालतको अन्तरिम आदेश अनुसार अस्पतालमै कार्यरत रहेका छन्। अदालतको आदेश र मेडिक बोर्डको सिफारिसका आधारमा वीरमा बस्ने कर्मचारीको संख्या २० जना जति रहे पनि बाँकी भने पहुँचका भारमा हाजिर गरिरहेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अनुसार अटेरी गरेर बस्ने कर्मचारीहरुमा इन्दिरा गैरे, दिनेश कुमार जैसवाल, पाण्डव बराल, विष्णु फुयाल, इश्वरी राजभण्डारी, सीता केसी, सीता ढकाल आचार्य, सोविता घिमिरे, रस्ता कवाँ , महेश बराल, पार्वती लामिछाने, रचना क्षेत्री, कल्पना श्रेष्ठ, रस्मी थापा लगायत रहेका छन्।