काठमाडौं- अनुहारको विकृतिसम्बन्धी समस्याको उपचारका लागि छुट्टै विशिष्टकृत अस्पताल स्थापना हुने भएको छ। अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहयोगमा ललितपुरको नख्खुमा विशिष्टकृत अस्पताल स्थापना हुने भएको हो।
अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्याको उपचारका लागि लक्षित एकद्वार उपचार केन्द्र (नेशनल इन्स्टिटयुट अफ क्रेनियोफेसियल सर्जरी- एनआईसीएस द फेस हस्पिटल) को आज सिलन्यास गरिएको छ। विश्वविख्यात क्रेनियोफेसियल प्राडा हर्मन सेलरद्वारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहयोगमा निर्माण हुने उक्त अस्पताल डेढ वर्षभित्र निर्माण सम्पन्न भइसक्ने बताइएको छ।
अस्पतालमा खुँडोपना तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या भएका व्यक्तिहरुले पूर्णत नि:शुल्क सेवा पाउने क्रेनियोफेसियल सर्जन डा सुमित सिंहले जानकारी दिए। उनकै पहलमा नेपालमा अस्पताल निर्माणको काम अगाडि बढेको हो।
डा सिंहका अनुसार भारतमा गरिएको अनुसन्धानबाट हरेक आठ सयमा एक जनामा खुँडोपना तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या रहेको पाइएको छ। सो अनुपातमा नेपालमा पनि त्यस्ता किसिमका समस्या हुन सक्ने उनले बताए। त्यसैको उपचारका लागि आफूले नयाँ परियोजना स्वरुप सुविधासम्पन्न अस्पतालको स्थापनाको काम थालेको उनले जानकारी दिए।
अस्पताल निर्माणको काम अगाडि बढीरहेकाले केही दिनभित्र बसुन्धारास्थित केडीसी जनरल अस्पतालबाट भने सेवा सुरु गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। उनले सुरुवाती चरणमा प्रति वर्ष करिब ५०० जनालाई नि:शुल्क शल्यक्रिया तथा उपचार सेवा दिने र भविष्यमा वार्षिकरुपमा १५ सय जनासम्मलाई नि:शूल्क सेवा दिने लक्ष्य लिएको जानकारी दिए ।
नेशनल इन्स्टिटियुट अफ क्रेनियोफेसियल सर्जरीका विभिन्न विभागमध्ये हर्मर सेलर सेन्टर फर क्लेफ्ट एण्ड क्रेनियोफेसियल एनामोलिज अन्तर्गतका सेवाहरु निशूल्क उपलब्ध गराउने यस अस्पतालले एकै छतमुनी नेशनल सेन्टर फर टिएमजे डिस्अर्डर, फेसियल प्लाष्टिक एण्ड एस्थेटिक्स, नेशनल सेन्टर फर क्रेनियो मेक्सिलो फेसियल ट्रमा, नेशनल सेन्टर फर इम्प्लान्टोलोजी लगायतका विभागअन्तर्गत अन्य विभिन्न सेवा तथा उपचारहरु भने सशुल्क उपलब्ध हुनेछ।
कार्यक्रममा क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलका संस्थापक तथा प्रमुख प्राडा हर्मन सेलर भर्चुअल माध्यमबाट जोडिएका थिए। उनले आफ्नो संस्थाले नेपालमा सेवा विस्तार गर्न पाएको भन्दै खुशी व्यक्त गरे साथै नेपालमा दिईने सेवाको बारेमा मिडियाले वाचडकको रुपमा काम गर्न समेत सुझाव दिए।