काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा रहेको स्वास्थ्य अपातकालिन कार्यसञ्चालन केन्द्र (एचईओसी)लाई थप बलियो र सशक्त बनाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नेपालस्थित कार्यालयले प्रविधि लगायतका विषयमा सहयोग गरेको छ।
डब्लुएचओ नेपालले प्रविधिसँगै केन्द्रमा आवश्यक पर्ने अन्य पूर्वाधारहरु निर्माण गरेर कार्यसम्पन्न गरेको हो। केन्द्रलाई प्राविधिक रुपमा थप बलियो र सशक्त बनाउने काम सम्पन्न भएपछि मंगलबार कार्यसम्पन्न भएको प्रमाणपत्र मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।
केन्द्रमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई डब्लुएचओ नेपालका प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डवले प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
प्रमाणपत्र हस्तान्तरण गर्नुअघि डब्लुएचओ नेपालका प्रतिनिधि डा पाण्डवले केन्द्रलाई प्राविधिक रुपमा बलियो र सक्षम बनाउन एक करोड ३१ लाख भन्दा बढी रुपैयाँ लागतका विभिन्न उपकरण तथा सामग्रीहरु राखेर संरचनाहरु निर्माण गरिएको जानकारी दिए।
'केन्द्र अब प्राविधिक रुपमा निकै बलियो भएको छ। अब यहाँबाट नै नेपालका विभिन्न प्रदेशमा मात्र नभई विदेशमा पनि सहजै रुपमा अन्तरक्रिया र अन्य आवश्यक काम गर्न सकिने भएको छ,' उनले भने, 'विपदको समयमा यो केन्द्रबाट नै अब विपद् व्यवस्थापनका क्षेत्रमा धेरै काम गर्न सकिन्छ।' उनले केन्द्रको विकास र विस्तारका लागि डब्लुएचओले आवश्यकता अनुसार भविष्यमा पनि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
मन्त्रालयका सचिव डा रोशन पोखरेलले सहयोगका लागि डब्लुएचओलाई धन्यवाद दिँदै विपद् व्यवस्थापनका क्षेत्रमा केन्द्रबाट सहज रुपमा धेरै काम गर्न सकिने बताए। 'डब्लुएचओले विपद् व्यवस्थापनका लागि सहयोग पुर्याबउन केन्द्रमा आवश्यक पर्ने प्राविधिक र अन्य पूर्वाधारहरुको निर्माणमा गरेको सहयोग प्रशंसायोग्य छ,' उनले भने, 'एचईओसी प्राविधिक रुपमा बलियो हुनु भनेको भविष्यमा हुनसक्ने आपतकालिन अवस्था तथा विपद् व्यवस्थापन छिटो र प्रभावकारी रुपमा हुनु हो।' उनले नेपालकै स्वास्थ्य क्षेत्रको विकासका लागि संगठनबाट थप सहयोग पनि आवश्यक रहेको बताए।
एचईओसीका प्रमुख डा समिरकुमार अधिकारीले केन्द्रलाई बलियो र थप प्रभावकारी बनाउन डब्लुएचओले विभिन्न ३८ प्रकारका प्राविधिक उपकरण तथा सामग्रीहरुको सहयोग गरेको जानकारी दिए।