काठमाडौं- क्यान्सरका बिरामीको उपचारका लागि विशिष्टकृत सेवा दिन स्थापना भएको काठमाडौं क्यान्सर सेन्टरले 'हेड एन्ड नेक क्यान्सर'सम्बन्धी एक दिने गोष्ठी आयोजना गरेको छ।
शनिबार राजधानीको एक होटलमा सेन्टरले हेड एन्ड नेक क्यान्सरका क्षेत्रमा भइरहेका काम, आगामी दिनमा गर्नुपर्ने कामहरु र यस क्षेत्रमा भइरहेका उपलब्धी लगायतका विषयमा अनुभव आदान प्रदान गर्न गोष्ठी गरेको हो।
काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा अन्जनी कुमार झाले हेड एन्ड नेक क्यान्सर दिवसको अवसरमा यस क्षेत्रमा भइरहेका कामहरुको अनुभव आदानप्रदानसँगै नयाँ नयाँ कुरा सिक्ने अवसर मिलोस् भनेर 'हेड एन्ड नेक क्यान्सर सिम्पोसिजम'को आयोजना गरिएको जानकारी दिए।
कार्यक्रममा हेड एन्ड नेक क्यान्सरका क्षेत्रमा सक्रिय विज्ञ चिकित्सकसहित, शल्यचिकित्सक, नाक, घाँटी रोग विशेषज्ञ, दन्त चिकित्सकहरुको सहभागीता थियो।
कार्यक्रममा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नुका साथै समूहगत छलफल समेत भएको थियो।