मेडिकल रेकर्ड
मेडिकल रेकर्ड अर्थात चिकित्सा अभिलेख बिरामीको अवस्था, निदान, परीक्षण तथा औषधि उपचारसहित चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले क्रमबद्द र व्यवस्थित गरि तयार गरिएको अभिलेख हो। यसमा बिरामी अस्पतालमा गएपछि निजको उपचार शुरु गर्नको लागि तयार गरिएका कागजपत्र, सहमति, बिल र उपचार शुरु भएपछि अस्पतालबाट डिस्चार्ज नहुन्जेलसम्मका परीक्षण तथा उपचार सम्बन्धी सम्पूर्ण कागजात तथा विवरणहरु सिलसिलेवार रुपमा मिलाएर राखिएको हुन्छ। यो बिरामीको उपचारमा कुन कुन समयमा के के परीक्षण गरियो, के के औषधि सेवन गराइयो, के कति खर्च भयो, के सुधार भयो लगायत उपचारमा संलग्न चिकित्सक तथा नर्सको राय सहित समेटेर बनाइएको मूलतः बिरामीको उपचारको समयमा तयार गरिएको विस्तृत प्रमाण हो।
मेडिकल रेकर्ड विभाग
चिकित्सा अभिलेखको कार्य गर्नको लागि निर्माण गरिएको विभाग नै मेडिकल रेकर्ड विभाग हो। यो विभाग मूलतः अस्पतालहरुमा रहने गर्दछ। प्रायः अस्पतालको भवनमा भर्याङको मुनिपट्टि वा कुनै साँघुरो र अध्यारो कोठाभित्र कोही कर्मचारीले आफ्नो वरीपरी बिरामीको फाइल राखेर कम्प्युटर वा रजिष्टरमा केहि लेखिरहेको वा प्रविष्ट गरिरहेको छ भने वुभ्mनुपर्छ कि त्यो नै मेडिकल रेकर्ड विभाग हो।
यो विभाग किन अँध्यारो र साँघुरो कोठामा राखिएको नि भन्ने प्रश्नमा केहि जिम्मेवार अधिकारीहरु भन्ने गर्नुहुन्छ बिरामी गन्ने र प्रतिवेदन गर्ने बाहेक यो विभागको के काम हुन्छ र ? तसर्थ जहाँ खाली भयो त्यहीँ राखीयो। यसको अर्थ उहाँहरुलाई मेडिकल रेकर्ड विभागको महत्व नै थाहा छैन। आजको समय जोसँग बढी सूचना छ उहि बलवान र सफल हुन्छ र जसले सूचनाको कम प्रयोग गर्छ उसको सफलतालाई तिनै सूचनाहरुले निरन्तर गिज्याईरहेका हुनेछन्। मेडिकल रेकर्ड विभागलाई आफ्नो नजिकै राखी पर्याप्त सूचनाको आडमा बलवान र सफल हुनुको सट्टा आज मेडिकल रेकर्डलाई कमजोर बनाउँदै गर्दा भोलि आफू कति कमजोर भइन्छ बेलैमा हेक्का राख्नु उचित हुन्छ। त्यस्तैगरी तालुक मन्त्रालयकै धेरै जसो जिम्मेवार अधिकारीहरुलाई यो विभाग के हो र यसले के काम गर्छ भनेर सोध्ने हो भने पनि उहाँहरु जिल्ल पर्नुहुन्छ। यस्तो दयनीय स्थितीमा रहेकोे यो विभाग कसैले बुझे पनि नबुझे पनि यसको कार्यक्षेत्र, जिम्मेवारी र भूमिकाका हिसावले हेर्दा भने दमदार देखिन्छ।
मेडिकल रेकर्डका मुख्य क्षेत्रहरु
स्वास्थ्य तथ्यांक
अभिलेख तथा सूचना व्यवस्थापन
रोग वर्गिकरण तथा निगरानी
चिकित्सा अनुसन्धान
योजना निर्माण
चिकित्सा कानुनी मामला आदि।
मेडिकल रेकर्डका सहायक क्षेत्रहरु
प्रशासन र व्यवस्थापन
चिकित्सा विज्ञान
सामाजिक विज्ञान
जीवन बीमा
जनस्वास्थ्य आदि।
मेडिकल रेकर्ड विभागका मुख्य कार्यहरु
चिकित्सा अभिलेखको व्यवस्थापन
अभिलेखन तथा प्रतिवेदन
चिकित्सा कानुनी क्रियाकलाप
रोगहरुको वर्गिकरण तथा विश्लेषण
तथ्यांक विश्लेषण तथा अनुसन्धान
योजना तर्जुमा
बीमा सहजीकरण
प्रतिवेदन तयार गर्ने, प्रस्तुत गर्ने
सूचना व्यवस्थापन तथा प्रवाह
रोगहरुको निगरानी
चिकित्सा अभिलेख प्रमाणीकरण
सरोकारवाला निकाय सँग समन्वय
सेवाको गुणस्तर परीक्षण आदि
माथी उल्लिखित मेडिकल रेकर्ड विभागका कार्यहरु हुन् तसर्थ ति सवै कार्य र क्षेत्रको विषय विज्ञ वा श्रोत व्यक्ति पनि मेडिकल रेकर्ड अधिकारी नै हुन्छन्।
मेडिकल रेकर्ड अधिकारीको भूमिका
अस्पतालमा उत्पादन भएका मेडिकल रेकर्डको व्यवस्थापन, विश्लेषण, प्रतिवेदन सहित समग्रमा स्वास्थ्य तथ्यांकको विज्ञको रुपमा काम गर्नुपर्ने मेडिकल रेकर्ड अधिकारीको मुख्य भूमिका भएपनि यसको साथ साथै तल उल्लिखित भूमिका समेत निभाउनुपर्र्नेे अवस्था विद्यमान रहेको छ।
बिरामी संख्या,मानव संसाधन,भवन तथा संरचना,उपकरण एवं विभिन्न श्रोत विचको सम्बन्ध अनुमान गर्ने,प्रक्षेपण गर्ने आदि विषयको श्रोत व्यक्तिको भूमिकामा रहनुपर्ने।
बेला बेलामा आईरहने विभिन्न प्रकोपजन्य रोगहरुको निगरानी सम्बन्धी श्रोत व्यक्तिको भूमिकामा रहनुपर्ने।
रोगहरुको वर्गिकरण सम्बन्धमा श्रोत व्यक्तिको भूमिकामा रहनुपर्ने।
प्रहरी प्रशासन,अदालत आदि कानुनी निकायसँग कानुनी चिकित्सा मामलाहरुको समन्वय गर्ने सन्दर्भमा अस्पतालको कानुनी व्यक्ति अर्थात वकिलको भूमिकामा रहनुपर्ने।
अस्पतालको अवस्था,व्यवस्था र बिरामीको सेवा तथ्यांक आदिको वारेमा अनुसन्धान कर्ता, पत्रकार, नीति निर्माता र तालुक निकायलाई निरन्तर सूचना प्रवाह गराईरहनुपर्ने जिम्मेवारीले गर्दा पदेन सूचना अधिकारीको भूमिकामा रहनुपर्ने।
अस्पतालको स्वास्थ्य तथ्यांक, बिरामीको भर्ना, उपचार, डिस्चार्ज सहित जन्म,मृत्यु सहितका अभिलेख प्रमाणित गर्ने सन्दर्भमा कानुनी तथा प्रशासनिक भूमिकामा रहनुपर्ने, आदि।
मेडिकल रेकर्डको महत्व
मेडिकल रेकर्ड आफैैमा तथ्य हो। बिरामीको स्वास्थ्य अवस्थाको ऐना हो र बिरामीले लिएको सेवा, औषधि उपचार आदिको प्रमाण पनि हो। तसर्थ यसलाई योजना बनाउन वा लक्ष्य निर्धारण गर्न वा कुनै अनुसन्धान गर्न किन नहोस् सवै ठाउँमा उत्तिकै महत्वका साथ प्रयोग गर्न सकिन्छ।
अस्पतालहरुमा आजपनि कतै शैया मात्र छन् बिरामी छैनन्, कतै बिरामी मात्रै छन् शैया अपुग छ, कतै औषधि म्याद नाघेर खेर गईरहेको छ, कतै बिरामीहरुले औषधि पाइरहेका छैनन्। कतै चिकित्सक कर्मचारीहरुले काम नपाएर हाजिर मात्र गरेर दिन बिताईरहेका छन् भने कतै दिनभरि सेवा प्रवाह गर्दा पनि सवै बिरामीहरुलाई सेवा दिन सकिएको छैन। यसको सिधा कारण हामीले मेडिकल रेकर्डको सदुपयोग गरि सो अनुसार आवश्यक योजना बनाउन सकेनौं।
सामाजिक स्वास्थ्य सुरक्षाको क्षेत्रमा आज स्वास्थ्य बीमा जस्ता बहुप्रतिक्षित तथा बहु आशातीत कार्यक्रमहरु सञ्चालित भईरहेका छन्। आज सम्म करिव एक चौंथाइ नागरिक मात्र उक्त कार्यक्रममा आवद्द छन् र राज्यको नीति विस्तारै सवै नागरिकलाई उक्त कार्यक्रममा आवद्द गर्दै जाने भन्ने छ। यस सन्दर्भमा विशेषत सरकारी अस्पतालहरुमा बढिरहेको बिरामी चापको अध्ययन तथा विश्लेषणको लागि मेडिकल रेकर्डको तथ्यांक कति महत्वपूर्ण हुन्छ ? सहजै अनुमान गर्न सकिन्छ।
आज पनि नेपालमा स्वास्थ्य सम्बन्धी दिगो विकाश लक्ष्य तथा विभिन्न आवधिक योजना निर्माण गर्न तथा यसको प्रगति मापन गर्न चाहिने मुख्य तथ्यांक अस्पतालकै मेडिकल रेकर्ड विभागबाट उत्पादन हुन्छ। रुग्णता वा मातृ मृत्यु वा नवजात शिशु मृत्यु यि सवै तथ्यांकको मुख्य उत्पादनकर्ता उहि मेडिकल रेकर्ड विभाग हो।
स्वास्थ्य क्षेत्र त्यसैमा पनि उपचारात्मक क्षेत्र आफैैमा अति सम्वेदनशिल क्षेत्र हो यसको सेवा प्रवाहलाई उचित आँकलन गरि सोही अनुसार, अस्पताल शय्या, उपकरण, सेवा, औषधिको आपूर्ति साथै चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुको उचित व्यवस्थापन गर्न सकिएन भने निःसन्देह उपचारको व्यवस्थापन हुन नसकेर अनाहकमा धेरै नागरिकहरुले मृत्यूबरण गर्नुपर्र्ने स्थिति नआउला भन्न सकिँदैन। तसर्थ यि सवै विषयको पूर्व आंकलन, तयारी र आवश्यकता प्रक्षेपण गरि सोही अनुसार योजना निर्माण गर्न मेडिकल रेकर्ड अत्यन्त महत्वपूर्ण हुन्छ।
मेडिकल रेकर्डको अवस्था
जव राज्य संयन्त्रले नै चिन्दैन भने त्यो क्षेत्रको अवस्था कस्तो होला ? हो त्यस्तै अवस्था छ आज मेडिकल रेकर्ड क्षेत्रको पनि। सिंगो तथ्यांक क्षेत्र नै हेपिएर बसेको मुलुकमा मेडिकल रेकर्ड हेपिनु के ठुलो कुरा भयो र ? राज्य संयन्त्रमा जुन सेवा वा क्षेत्र हावी हुन्छ त्यसले अर्को सेवालाई निरुत्साहीत गर्ने आजको नेपाली कर्मचारीतन्त्रको धर्म जस्तै भएको छ। यस्तो अवस्थामा मेडिकल रेकर्ड जस्तो सानो समुहको अवस्था सवल हुने कुरै भएन। आज यसको अस्तित्व समेत खतरामा रहेको कुरा नकार्न सकिँदैन।
पकेटबाट योजना बनाउन माहिर हामीलाई योजना बनाउन आधार तथ्यांक चाहिन्छ भनेर कसले सिकाउने ? मेडिकल रेकर्ड अधिकारी निःसन्देह अस्पताल योजनाको मुख्य श्रोत व्यक्ति हो यहि कुरालाई नेपाल सरकारले समेत स्वामित्व लिँदै निजहरुको कार्य विवरणमा समेत अस्पतालको योजना अधिकारीको रुपमा कार्य गर्ने भनि तोकेको छ तर पनि अस्पतालहरुले व्यवहारिक रुपमा यो विषय ग्रहण गर्न सकिरहेका छैनन्। रेकर्डले तथ्यांक बोल्छ, तथ्यांकले तथ्यलाई उजागर गरेको हुन्छ र मेडिकल रेकर्ड अधिकारीको उपस्थितिमा योजना बनाउँदा सोही तथ्यमा टेकेर बनाउनुपर्ने हुन्छ। योजना निर्माणमा संलग्न नगराउनुको कारण यो अवस्था नचाहेर पो हो कि ? कसैले माने पनि नमाने पनि सत्य यो हो कि तथ्य र तथ्यांकको जग विना गरिएका निर्णयले समस्याको समाधान हुँदैन र आम नागरिकले छिटोछरितो एवं गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अवस्था एउटा सुन्दर कल्पना जस्तै हुनेछ, यस सम्बन्धमा सरोकारवाला निकायहरुले बेलैमा ध्यान दिनुपर्ने आवश्यकता छ।
अस्पतालको सेवा व्यवस्थापन होस् वा रोगहरुको निगरानी गर्ने, सेवा गुणस्तर कायम गर्ने तथा परीक्षण गर्ने वा अनुसन्धानको विषय होस् वा योजना निर्माणका नीतिगत एवं निर्णय प्रक्रियामा किन नहोस् जव मेडिकल रेकर्डलाई सहभागी गराइँदैन भने त्यस्ता ठाउँका निर्णयले कुन अस्पतालको कुन समस्यालाई सम्बोधन गर्न सक्छ ? समस्याको सम्बोधन हुनको लागि त पहिला समस्याको बस्तुगत जानकारी हुनुपर्यो र पो समाधानको गन्तव्य पहिचान गर्न सकिन्छ। यि यावत सन्दर्भहरुमा सरोकारवाला निकायहरुले आज मेडिकल रेकर्ड विभागलाई नजर अन्दाज गर्दै पन्छाउँदै जाँदा भोलिको स्वास्थ्य सेवा कस्तो होला ? नागरिकले कसरी सेवा प्राप्त गर्लान ? समयमै समीक्षा गर्न जरुरी छ। आज रेकर्डका अधिकारीहरु साँगुरो दायरामा बस्लान् यसको चिन्ता भन्दा पनि आम नागरिकले प्राप्त गर्ने सेवा र यसको गुणस्तरमा भईरहेको ह्रासको बारेमा कसले खोजी गर्ने ? आफैले गरेको कामको गुणस्तर परीक्षण पनि आफैै गर्ने हो भने त्यस परीक्षणको बैधतामा प्रश्न उठ्ला कि नउठ्ला ? यो पनि गम्भीर समीक्षाको विषय हुनुपर्छ।
सरकारी दरवन्दी अनुसार हेर्ने हो भने चौंथो तह देखि आठौं तह सम्म मात्र रहेको यो विभागमा अत्यन्त काबिल कर्मचारीहरु प्रवेश गरेको देखिन्छ तर आठौं तह भन्दा माथि दरवन्दी नै नभएपछि बाध्य भएर यो सेवाबाट बहिर्गमन हुनुपर्ने स्थिति छ। नेपालमा मेडिकल रेकर्ड विभागको आवश्यकता र महत्वलाई बेलैमा ह्रदयंगम गर्दै मेडिकल रेकर्डका अधिकारीहरुको वृति विकाशको ढोका खोल्नुपर्ने तड्कारो आवश्यकता छ। स्वास्थ्य तथ्यांकको गुणस्तर उचो बनाउन क्षमता र सामथ्र्यका साथ मेडिकल रेकर्डको क्षेत्रमा पसेका कर्मचारीहरुलाई राज्यले सोही क्षेत्रको उन्नयनको लागि योगदान गर्न सक्ने वातावरण निर्माण गरेन भने यसले समग्र स्वास्थ्य प्रणालीलाई नै कमजोर बनाउने निश्चित प्राय छ।
आज पनि अस्पतालहरुमा बहुप्रतीक्षित ई.एम.आर प्रणाली लागू गर्ने भनि देश भरि नै व्यापक चर्चा गरिएको छ तर त्यसैको मुख्य नेतृत्वकर्ता मेडिकल रेकर्ड विभागलाई कमजोर बनाएर कदापि पनि उक्त प्रणाली लागू गर्न सकिँदैन। त्यस्तै गरि रोगहरुको वैज्ञानिक वर्गिकरण गर्न विश्वभरि एकै साथ कार्यान्वयनको चरणमा रहेको आई.सि.डि ११ को नेपालमा मेडिकल रेकर्डका अधिकारीहरु मुख्य नेतृत्व गरिरहेका छन् उनिहरुको सम्भावित बहिर्गमनले यो प्रणालीलाई कुन हद सम्म असर गर्छ होला ? यो तथ्यलाई समेत तालुक निकायहरुले बेलैमा मनन् गर्न जरुरी छ।
मेडिकल रेकर्ड अस्पतालकर्मीको लागि मात्र होईन समग्र नीति तथा योजना निर्माता,अनुसन्धानकर्ता एवं जनस्वास्थ्यकर्मी सवैलाई उत्तिकै महत्वपूर्ण हुन्छ। जनस्वास्थ्य क्षेत्रका अधिकारीहरु आफुलाई योजना विज्ञ भन्न रुचाउनुहुन्छ तर त्यहाँ बनेका योजनाले आम नागरिकको दैनिकीलाई कसरी सहजीकरण गरिरहेको छ ? उनिहरुले प्राप्त गर्ने सेवाको गुणस्तर कस्तो छ ? रोगहरुको रोकथामको अवस्था कस्तो छ ? उपचार गराउनुपर्ने बिरामीहरुको वर्षेनि बढ्दो दर र उनिहरुको अवस्थाले के जनस्वास्थ्य क्षेत्र सफल देखिन्छ ? जनस्वास्थ्य क्षेत्रले गरेको कामको मुल्यांकन उपचारात्मक क्षेत्रमा छर्लङ्ग देखिन्छ तसर्थ मेडिकल रेकर्ड अस्पतालको मात्र होईन जनस्वास्थ्य क्षेत्र र सिंगो समाजको चिकित्सकीय ऐना हो। जहाँबाट समाजका आम नागरिकको रुग्णता सहित जनस्वास्थ्यकर्मी, राज्य, सवै तहका सरकार सहित स्वास्थ्य क्षेत्रमा काम गर्ने सवैको तस्विर र भूमिका पनि छर्लङ्ग देखिन्छ। देशमा धुरन्धर विज्ञहरु मुख्य भूमिकामा नै रहने तर आम नागरिकहरुले त्यो विज्ञतालाई महशुस गर्न नपाउने हो भने फगत एउटा उपाधीमा मात्र सिमित भएको त्यो विज्ञताले आम नागरिकको दैनिकीमा के अर्थ राख्छ ? यो विषय नबुझेको झैं गरि कसैले बुझपचाउँछ भने त्यो आफ्नै उपाधी माथीको व्यंग्य बाहेक अरु के हुन सक्छ ? यो विषय पनि गम्भीर समीक्षाको विषय बन्नुपर्छ।
आज तथ्यमा टेकेर योजना निर्माण नगर्दा जनस्वास्थ्य क्षेत्र निधाएको जस्तो र उपचारात्मक क्षेत्र झिँझो मानिरहेको जस्तो देखिन्छ। न त जनस्वास्थ्य क्षेत्र निधाउन पाईन्छ न उपचारात्मक क्षेत्र यति बिरामीको उपचार गरें भनेर झिँझो नै मान्न पाईन्छ। निधाएको जनस्वास्थ्य क्षेत्र र झिँझो मानेको उपचारात्मक क्षेत्रलाई पुनर्ताजगी सहित निशर्त आफ्नो भूमिकामा फर्काउन राज्य र सरकारहरुले के तयारी गरिरहेका छन् ? नागरिक समाज र राज्यको चौंथो अंग भनेर चिनिने पत्रकारीता क्षेत्रले पनि यि प्रश्नको उत्तर खोज्नुपर्ने बेला आएको छ ?
बिरामीले पाउनुपर्ने प्रयाप्त सेवा पाउनको लागि कुन कुन क्षेत्रबाट कमजोरी भए ? नीति निर्माताहरु कहाँ चुकिरहेका छन् ?सरकारहरु कहाँ चुकिरहेका छन् ?अस्पताल तथा आम नागरिकहरु कहाँ चुकिरहेका छन् ? ढिला भईसकेको छ तथापी अव खोजी गर्नुपर्ने बेला आएको छ। अझैपनि देशका कतिपय ठाउँमा बिरामी हुँदा आम नागरिकले आधारभुत उपचार समेत पाउन हम्मे हम्मे भईरहेको तथा सिटामोल वा त्यस्तै खालका सामान्य औषधिहरु समेत पाउन नसकिरहेको तितो यथार्थ हामी माझ छिपेको छैन यस्तो अवस्थामा नीति निर्माता तथा उच्चपदस्थहरु ठुला ठुला तारे होटलमा गरिएका कार्यक्रममा सहभागी भई सधैं गुणस्तरीय स्वास्थ्य, स्वास्थ्यमा नागरिकको सर्वव्यापी पहँुच आदि जस्ता आदर्श बाक्य जप्नुकोे के अर्थ हुन्छ ? अव नागरिक तहबाट पनि यो प्रश्नको उत्तर खोज्नुपर्ने बेला भएको छ।
बिरामीको उपचार तथ्यांक व्यवस्थित गरि साँचो अर्थमा स्वास्थ्य तथ्यांकको गुणस्तर कायम गर्न, नागरिकको स्वास्थ्य उपचारको खर्च हिस्सा कम गर्न, स्वास्थ्य सम्बन्धी दिगो विकाश लक्ष्यहरु हाँसिल गर्न राष्ट्रिय स्वास्थ्य नीति,जनस्वास्थ्य सेवा ऐन तथा नियमावलीको कार्यान्वयन गर्दै समग्रमा नेपालको संविधान २०७२ मा रहेको स्वास्थ्य सम्बन्धी हकको व्यवहारिक कार्यान्वयन गर्नको लागि पनि मेडिकल रेकर्ड विभागको अत्यन्त महत्वपूर्ण भूमिका रहन्छ, यहि भूमिकाको कारण नै यो विभागको औचित्य सिद्घ हुन्छ।
अन्त्यमा
हामी हरेक बर्ष बिरामीहरुले सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकेनन् अर्थात आम नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच भएन भन्छौं। अस्पताल तथा स्वास्थ्य संस्थामा हरेक बर्ष प्राय उस्तै प्रकृतीका समस्याहरुको वारेमा गुनासो र बहस हुन्छ, धेरै खर्च गरेर गुरुयोजना समेत बन्छन्, कार्यान्वयन पनि हुन्छन् तर पनि किन समस्याको हल हुन सकिरहेको छैन ? अव आम नागरिकले यसको उत्तर खोज्नुपर्ने बेला आएको छ। बस्तुगत यथार्थ र तथ्य अर्थात मेडिकल रेकर्डको अध्ययन बिना स्वास्थ्य क्षेत्रका कुनै अमुक योजना बनाएर कार्यान्वयन गर्दै गर्दा योजनाकारलाई क्षणिक सन्तोष त होला तर आम नागरिकलाई सन्तोष हुँदैन किनकी ति योजनाहरु बस्तुगत र तथ्यगत आधारमा निर्माण भएका हुँदैनन्।
एकातिर आँधी अर्कोतिर झोलुङ्गो भन्ने नेपाली उखान चरितार्थ हुने गरि बनाईएका योजनाको कुनै तुक हुँदैन। सहि अर्थमा स्वास्थ्य क्षेत्रलाई चलायमान बनाउने हो भने मेडिकल रेकर्ड स्वास्थ्य क्षेत्रको खम्बा मात्र होईन चालक पनि हो भन्ने कुरा बुझ्नुपर्दछ तसर्थ कुनै पनि स्वास्थ्य संस्थाको निर्माण वा स्तरोन्नती वा व्यवस्थापन वा विस्तार किन नहोस् तथ्यमा टेकेर काम गरौं,मेडिकल रेकर्डलाई विश्वास गरौं र समुचित प्रयोग गरौं। नागरिकले त्यसलाई विश्वास गर्छन जसले तथ्यांकलाई विश्वास गर्छ, मेडिकल रेकर्डलाई विश्वास गर्छ। मेडिकल रेकर्ड र यसको नेतृत्वकर्ता मेडिकल रेकर्ड विभागलाई कमजोर नबनाऔं थप व्यवस्थित र बैज्ञानिक बनाऔं। अध्ययन अनुसन्धानमा प्रयाप्त प्रयोग गरौं र त्यसैको जगमा टेकेर अस्पतालहरुको तथा समग्र स्वास्थ्य क्षेत्रको योजना बनाऔं। रोगहरुको रोकथाम होस् वा उपचार, यि सवै विषयमा मेडिकल रेकर्डको सहि प्रयोग गरौं।
मेडिकल रेकर्ड स्वास्थ्य क्षेत्रको स्तम्भ हो तसर्थ के चिकित्सक, के स्वास्थ्यकर्मी के अस्पतालकर्मी के जनस्वास्थ्यकर्मी सवै जना एक ठाउँमा उभियौं, मेडिकल रेकर्डको आधारमा बहस गरौं, त्यसैको आधारमा योजना बनाऔं, त्यसैलाई कार्यान्वयन गरौं, यसले सम्पूर्ण स्वास्थ्य सेवाको मात्र गुणस्तर बढाउँदैन नागरिक र स्वास्थ्य संस्थाहरु विच रहेको अविश्वासको दरारलाई कम गर्दै विश्वासको वातावरण निर्माण गर्छ। जसले गर्दा स्वास्थ्य संस्थाको मात्र नभई तपाँई हाम्रोे पनि प्रतिष्ठा बढाउँछ।यस कार्यमा चिकित्सक नर्स स्वास्थ्यकर्मी, अस्पतालकर्मी, जनस्वास्थ्यकर्मी, नीति निर्माता, अनुसन्धानकर्ता, नागरिक समाज, पत्रकार सवै जना हातेमालो गर्दै अगाडि बढ्नुको कुनै विकल्प छैन।