काठमाडौं– त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का शिक्षक तथा कर्मचारी आन्दोलित भएका छन्।
अतिरिक्त समय काम गरे बापतको पारिश्रमिक तथा मासिक प्रोत्साहन भत्ता कटौती हुने निर्णय गरिएको विरोधमा आईओएमका शिक्षक तथा कर्मचारीहरुले संयुक्त संघर्ष समिति बनाउँदै आन्दोलन थालेका हुन्।
त्रिवि कार्यकारी परिषद्ले गत असार २६ गते त्रिविका विभिन्न निकायहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई प्रदान गरिँदै आएको अतिरिक्त समय काम गरे बापतको पारिश्रमिक तथा मासिक प्रोत्साहन भत्ता कटौती हुने निर्णय गरेको थियो।
त्रिविको सोही निर्णयानुसार साउन १ गतेदेखि त्रिविका सबै निकायसहित चिकित्सा शास्त्र अध्ययन संस्थानमा पनि शिक्षक तथा कर्मचारीको अतिरिक्त समय काम गरे बापतको पारिश्रमिक तथा मासिक प्रोत्साहक भत्ता कटौती भएको थियो।
आईओएमका कर्मचारी इकाइ समितिहरुले भने आफूहरुको भत्ता कटौती हुन नहुने भन्दै आईओएमका डिनलाई संयुक्त विज्ञप्ति बुझाएका थिए। तर हालसम्म आफूहरुको माग सम्बोधन नभएको भन्दै आईओएमका शिक्षक तथा कर्मचारीहरुले संयुक्त संघर्ष समिति बनाएर आईओएम परिसरमा आन्दोलन गरेका हुन्।