रुपन्देही– ग्लोबल फन्डको अनुदानमा बुटवलमा निर्माण भएको लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ। आठ करोड ७० लाख २० हजार चार सय २० रुपैयाँको लागतमा निर्मित उक्त भवन ग्लोबल फन्डका वरिष्ठ पोर्टफोलियो व्यवस्थापक स्टेफन स्टोजानोभिक, सेभ द चिल्ड्रेन नेपाल र भुटान कन्ट्री अफिसकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले संयुक्तरूपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई सोमबार एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्।
अत्याधुनिक सुविधासम्पन्न नवनिर्मित प्रयोगशालाबाट कोभिड–१९ र क्षयरोगलगायत अन्य विविध खालका सरुवा रोगहरूको उच्चस्तरीय माइक्रोबायोलोजिकल र इम्युनोलोजिकल परीक्षणदेखि प्याथोलोजिकल र विशिष्टीकृत मलिक्युलर विश्लेषणसम्मका सेवा प्रदान गरिने बताइएको छ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले प्रयोगशालामा उपलब्ध हुने सेवाहरूको गुणस्तर तथा विश्वसनीयता कायम गर्नुमात्र नभई लुम्बिनी र अन्य प्रदेशहरूमा समेत स्वास्थ्य सेवासम्बन्धी आवश्यकताहरू परिपूर्ति गर्नेतर्फ अघि बढ्नु प्रदेश सरकार र पालिका सरकारलगायत सबैको साझा दायित्व भएको कुरामा जोड दिए।
'यस महत्त्वपूर्ण स्वास्थ्य संरचनाको जिम्मेवारी लिँदै यस प्रयोगशालाले प्रदान गर्ने गुणस्तरीय सेवाको दिगोपनको लागि प्रदेश सरकारले रकम विनियोजन गर्नेछ भन्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु’ उनले भने।
हस्तान्तरण कार्यक्रममा सेभ द चिल्ड्रेन नेपाल र भुटान कन्ट्री अफिसकी राष्ट्रिय निर्देशक क्याम्पबेलले स्वास्थ्य सेवाका क्षेत्रमा निरन्तर सहयोग रहने कुरामा जोड दिइन्। 'प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेसँगै हामीले सेवा दिने र काम गर्ने समुदायहरूका लागि स्वास्थ्य सेवा पहुँचयोग्य, गुणस्तर र सामयिक बनाई स्वास्थ्य सेवामा असमानता घटाउन हाम्रो तर्फबाट निरन्तर सहयोग रहने र नेपाल सरकारसँग सहकार्य गर्ने हाम्रो प्रतिबद्धतामा पुनः जोड दिन चाहन्छु’, उनले भनिन्।
एचआइभी, क्षयरोग र मलेरियाविरुद्ध ग्लोबल फन्डका वरिष्ठ पोर्टफोलियो व्यवस्थापक स्टोयानोभिकले भने- ‘यस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नेपालको स्वास्थ्य सेवा क्षेत्रमा एक महत्त्वपूर्ण भूमिका खेल्नेछ । नेपालको स्वास्थ्य सेवा क्षेत्रलाई थप सुधार गर्न हामी सङ्घीय, प्रदेश र जिल्ला स्वास्थ्य निकायहरूसँग थप सहकार्य गर्ने आशा व्यक्त गर्दछु।’
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य सेवा पूर्वाधारको सुदृढीकरण गर्ने र स्वास्थ्य समस्याको समयमै सही परीक्षण र उपचार सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
यस्तै प्रयोगशालाले लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका अन्य स्वास्थ्य प्रयोगशालाहरूको नियमन गर्न प्रदेश र पालिकाहरूलाई सक्रियरूपमा सहयोग गर्ने उद्देश्य रहेको छ।
यसका साथै क्षमता सुदृढीकरण कार्यक्रमहरूमार्फत यस प्रयोगशालालले लुम्बिनी प्रदेशका प्रयोगशालाहरूमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने, प्रयोगशालाहरूलाई प्राविधिक सहायता प्रदान गर्ने, प्रयोगशालाहरूको उच्च गुणस्तर कायम राख्ने र सर्वसाधारणलाई कम मूल्यमा प्रयोगशालासम्बन्धी सेवा दिनका लागि समेत सहयोग गर्नेछ।