वीर शमशेरले मिति १९४६ साउन १२ गते श्री ५ पृथ्वी वीर विक्रम र आफ्नो नाम जोडेर पृथ्वी वीर अस्पताल नामाकरण गरी १५ शय्याको अस्पताल स्थापना गरेको इतिहास पाइन्छ। त्यसयता वीर अस्पतालले अनेकौं कालखण्ड पार गर्दै हाल ९६० शय्या सेवा संचालन, उच्चस्तरका विभिन्न चिकित्सा सेवाका विशेषज्ञ जनशक्ति तथा विभिन्न शोध कार्यहरु हुँदै आइरहेको छ।
वीर अस्पताललाई अझ विस्तार गर्ने प्रयोजनका लागि भनेर २०७३ साउन ७ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको बैठकले दुवाकोट, व्यासीमा रहेको ५७० रोपनी जग्गा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताललाई प्रदान गर्ने निर्णय भएको थियो। विशिष्टीकृत विशषेज्ञ अस्पताल निर्माण गर्नका लागि जग्गाको खोजी गरिरहेको अवस्थामा अर्थमन्त्री विष्णु पौडेल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उप–कुलपति डा गणेशमान गुरुङ्ग सहितको चिकित्सक एवं विज्ञ टोलीले असार २८, २०७३ मा दुवाकोट व्यासीमा सो क्षेत्रको अनुगमन गरी उपयुक्त भएको ठहर गरेको थियो।
त्यसपछि २०७३ फागुन ८ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले जग्गा प्राप्त गरेको थियो। २०७५ असार २६ मा न्याम्सको सिनेट बैठकले डिपीआर, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), माटो परीक्षण गर्न सैद्धान्तिक सहमति प्रदान गरेको थियो। नेपाल सरकारको अनुरोधमा चीनको चाइना आइपिपिआर ईन्टरनेशलन ईन्जिनियरिङ्ग कम्पनीले २०७५ चैत्र १२, १४ र १९ मा स्थलगत प्रारम्भिक सम्भाव्यता अध्यायन गरेको थियो ।
प्रस्तावित विस्तारित वीर अस्पतालको जग्गा व्यवस्थापन तथा डिपीआर लगायतको कार्य गर्नका लागि विगतका विभिन्न आर्थिक वर्षमा सरकारले बजेट दिएकोमा हालसम्म रकम फ्रिज भैजाने गरेको पाइन्छ। आर्थिक वर्ष २०७५/२०७६ को १५ करोड, २०७६/७७ मा एकिन नभएको, २०७७/७८ को ४० करोड रकम फिर्ता भएको पाइन्छ। २०७८/२०७९ को बजेट नं ४६ बुँदामा वीर अस्पतालको विस्तारित सेवा संचालन गर्न भक्तपुरको दुवाकोटमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल निर्माण गरिने छ। तीन वर्षभित्र निर्माण सम्पन्न गरी सेवा संचालन गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन लगायत पूर्वतयारी कार्य सम्पन्न गरिनेछ। भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन एकैसाथ पूरा गरी अस्पताल संचालनमा ल्याइनेछ, यसलाई राष्ट्रिय गौरबको आयोजनामा समावेश गरि छुट्टै आयोजना कार्यालय मार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ। काठमाडौंको जडीबुटीदेखि अस्पताल निर्माणस्थलसम्म मनोहरा नदीको दुबै किनारामा चार/चार लेनको करिडोर सडक निर्माण गरिनेछ भनि प्रस्तुत भएतापनि पछि यस बजेटको प्रस्तिथापन बजेट आँउदा यो कुरा फेरि समावेश हुन सकेन।
चालू आबमा वीर अस्पतालमा बर्न युनिट स्थापना, प्रतिष्ठानहरुको संचालन तथा व्यवस्थापनमा एकरुपता कायम गर्न एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन तर्जुमा, राष्ट्रिय ट्रमा सेन्टरको क्षमता विकाश जस्ता कार्यक्रमहरु रहेतापनि यो प्रस्तावित विस्तारित वीर अस्पतालको लागि कुनै छुट्टै बजेट तर्जुमा भएको पाईदैन।
स्थानीय जनताको माग बमोजिम असोज २४, २०७५ बुधबार यस प्रस्तावित विस्तारित वीर अस्पताल दुवाकोट व्यासीमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले सामुदायिक स्वास्थ्य कार्यक्रम सुरु गरेको हो। सो सेवाहरुमा मेडिकल अफिसर सहितको ओपीडी रहेको थियो । स्थानीय जनता तथा सरोकारवालहरुले अझ अरु सेवा थप्न माग गरे बमोजिम २०७९ वैशाख २ गते ल्याब तथा एक्स–रे सेवा पनि थपिएको थियो। सो सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलबाट उद्घाटन भएको थियो। उल्लेखित सेवा थपिए संगै स्थानीय जनताहरुमाझ अब वीर अस्पताल यहाँ बन्छ भन्ने विश्वास पलाएको पाईन्छ। त्यो संगै वीर अस्पतालको १३३ औं वार्षिक उत्सबको अवसरमा २०७९ साउन ०५ गते हालको सामुदायिक कार्यक्रम चलिरहेको भवनबाट वृहत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको थियो। त्यस शिविर लगतै यहाँको जनताको माग अनुसारको भिडियो एक्स–रे, ई.सि.जी., पूर्ण क्षमताको ल्याब, ५०० एम.ए.को एक्स–रे मेशनि सहितको एक्स–रे सेवा सहितको विषेशज्ञ डाक्टरहरुद्वारा ओपीडी सेवा संचालन गर्ने तयारी गरेता पनि हालसम्म सो सेवा शुरु हुन सकेको छैन। ती उल्लेखित सेवाहरु संचालनमा ल्याउन आवश्यक पर्ने औजार/उपकरण, भौतिक संरचनागत सुधार/निर्माण तथा मानब संशाधनको यथोचित तयारी गरेर मात्र अब सेवाहरु शुरु गर्नुपर्ने देखिन्छ। थप सेवाहरु सुचारु नहुँदासम्म मेडिकल अफिसर सहितको ल्याब, एक्स–रे सेवाहरु पुर्ववत रुपमा नै संचालन भैरहेको छन्।
हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको नाममा कायम रहेको जग्गा चाँगुनारायण नगरपालिकाको ०१ र ०४ वडाहरुमा पर्दछ । कित्ता नं २०२ मा २९०–४–०–०, कित्ता नं ३११ मा ९–६–०–०, कित्ता नं ३७१ मा ३३–१५–०–०, कित्ता नं ५७३ मा १२८–४–०–०, कित्ता नं ३०९ मा ४६–१–३–० र कित्ता नं ६६ मा १२–१२–०–० क्षेत्रफल रहेको देखिन्छ । यी कित्ताहरुको नक्सा साविकको दुवाकोट ख मा २०२, ३११ र ३७१, चाँगु ०८ मा ५७३ र ६६ चाँगु ०९ घ मा ३०९ पर्दछन्। प्रतिष्ठानको नाममा कायम रहेको करिब ५७० रोपनी जग्गा ठूलो क्षेत्रपालमा फैलिएको तर हालसम्म पनि तार बार वा पर्खालको प्रबन्ध नहुनाले सही तरिकाले संरक्षण गर्न कठिन भैरहेको छ। माटो बालुवा चोरी निकासी, काठ दाउरा ओसार पसार तथा जग्गा प्रयोग/उपभोग (जस्तै पूर्वपट्टी रिद्दि सिद्धि यातायात प्रालिको बसपार्क, पूर्वैपट्टी नेपाल ईन्जिनियरिङ्ग कलेजका स्थायी भौतिक संरचनाहरु, पश्चिम पट्टीका केही अस्थायी घर टहराहरु निर्माण) जस्ता कार्यहरुलाई नियन्त्रण/नियमन गर्न/गराउँन यहाँस्थीत अस्पतालका कर्मचारीहरु, अस्थायी पोष्ट दुवाकोट व्यासीका प्रहरी कर्मचारीहरु सदैव क्रियाशिल रहनु परेको अवस्था छ। यस्ता खालका समस्याहरुको पूर्ण समाधानको लागि चार किल्ला प्रमाणित गरी साँध/सिमान छुट्टयाई तार बार वा पर्खालको निर्माण गर्नुपर्ने देखिन्छ। विगतका वर्षायमामा बालुवा माटो सहितको बाढी भेलले दक्षिण दिशामा रहेको सडक ढाक्ने गरी जम्मा भएकोले तत्कालका लागि स्थानीय बासी वडा कार्यालयबाट पूर्व नेपाल ईन्जिनियरिङ्ग कलेजदेखि पश्चिम वार पार पानीको निकासको लागि ठूलो कूलो कायम गरिएकाले यस्ता समस्याहरुको दिर्घकालीन समाधान खोज्नुपर्ने बेला आएको छ।
प्रस्तावित विस्तारित वीर अस्पताल दुवाकोट परियोजनाको लागि आवश्यक ठानिएको खड्का डीलदेखि मनोहरा पुलसम्मको करिब तीन कि.मी. सडक १४ मिटर कायम गरी कालोपत्रे गर्ने कार्यका लागि सडक डिभिजन कार्यालय भक्तपुरद्वारा ठेक्का प्रक्रिया टुंगाई फिल्ड तहमा सडक निर्माण गर्ने कार्य शुरु भैसकेको छ। सो सडकको अधिकांस भाग प्रतिष्ठानले चर्चेको दक्षिण तर्फको भाग पर्दछ। सडक डिभिजन कार्यालयले अनुरोध गरे बमोजिम हाल यहाँ सिमाङकन कार्य चलिरहेको छ। सो कार्यका लागि नापी कार्यलय भक्तपुर, वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेल लगायतका टोली, चाँगुनारायण नगरपालिका ०१ र ०४ का वडा अध्यक्ष एवं प्रतिनिधिहरु तथा स्थानीय साँध सधियारहरुद्दारा विभिन्न मितिमा सो कार्य भैरहेको छ । यो कार्यको टुंगो लागेपछि निर्माण व्यवसायीहरुद्दारा निमार्ण कार्य शुरु गर्न तयारी अवस्थामा रहेका छन्।
हालको वीर अस्पतालमा बढ्दो सेवाग्राहीहरुको चाप, विशिस्टीकृत सेवा साथै उच्च तहका चिकित्सा जन्य अध्यायन/अध्यायपन र बृहत रुपामा स्वास्थ्य शोध कार्य गर्न गराउँन पनि प्रस्तावित विस्तारित वीर अस्पताल दुवाकोट परियोजना नितान्त आवश्यक देखिन्छ अर्को पाटो संघीय सम्सदमा दर्ता भएको चि.वि.रा.प्र. ऐन २०६३ संशोधन कार्यले पनि प्रतिष्ठानका आफ्ना सेवा, चिकित्सा जन्य अध्यायन÷अध्यायपन तथा अनुसन्धान गर्न/गराउँन पनि यो परियोजना अगाडी बढाउनुपर्ने देखिन्छ।
यसै शिलशिलामा हालै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका नव–नियुक्त उप–कुलपति प्रा. डा. भुपेन्द्र कुमार बस्नेतले सार्वजानिक गर्नु भएको प्राथमिकतामा यस परियोजना प्रथम स्थानमा रहनुले पनि यो निक्कै महत्वपूर्ण हो भन्ने दर्शाउँछ। त्यसैले यससंग सम्वद्ध सबै सरोकार राख्ने संघ सस्थाहरु जस्तै चाँगुनारायण नगरपालिका, स्थानीय बुद्दिजिबी तथा समाजसेवी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तथा वीर अस्पतालका पदाधिकारीहरु तथा कर्मचारीहरु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय तथा नेपाल सरकारले बिशेष पहलकदमी लिई आवश्यक प्रक्रिया अगाडी बढाउँनुपर्ने देखिन्छ।
हाम्रो वीर हाम्रो गौरब ।
हाम्रो सेवा हाम्रो धर्म ।
जय वीर अस्पताल ।
-(लेखक लम्साल रेडियोग्राफर निरीक्षक हुन्। उनी प्रस्तावित विस्तारित वीर अस्पताल दुवाकोट, व्यासीमा कार्यरत छन्।)