बर्दिया- नेपाल स्वंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १७५ औं पटक रक्तदान गरेका छन्। हरेक तीन तीन महिनामा एक दिन पनि ढिला नगरी रक्तदान गर्ने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहेका कर्माचार्यले यसपटक बर्दियाको भुरी गाउँमा पुगेर रक्तदान गरेका हुन्।
बर्दियाको ठाकुरबाबा नगरपालिका र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाको आयोजनामा नवौँ एवं बर्दिया जिल्ला स्तरीय प्रथम महिला विशेष रक्तदान कार्यक्रमको आज उद्घाटन गर्दै उनले रक्तदान गरेका हुन्।
नेपालकै सर्वाधिक रक्तदाता एवं हालैमात्र रक्तदाता सम्राटबाट बिभुषित कर्माचार्यलाई कार्यक्रमका सभापति एवं ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले सम्मान(पत्र प्रदान गरि सार्वजनिक सम्मान गरेका थिए। नगरका उपप्रमुख बिनाकुमारी भट्टराईले स्वागत गरेको सो कार्यक्रममा महिला तथा पुरूष गरि जम्म २०७ जनाले रक्तदान गरेका थिए ।
सो अवसरमा बोल्दै कर्माचार्यले रक्तदान सम्वन्धी जनचेतना अभिबृद्धि गर्न तथा उपचारका क्रममा रगत अभाव हुन नदिनका लागि यो अभियानलाई देशभर फैलाएको बताए ।