लहान- सिरहाको लहान नगरपालिकाले गर्भवतीलाई पोषिलो खानेकुरा वितरण गरेको छ। सोमबार नगरको वडा नं १९ का ५५ जना गर्भवतीलाई पोषणको लागि चामल, दाल, नुन, तेल, मटर र चानासहित खाद्यान्न वितरण गरिएको हो।
नगरप्रमुख महेशप्रसाद चौधरी हरेक महिनाको २२ गते गर्भवतीलाई खाद्यान्न वितरण गर्दै आएका छन्। जन्मिने नवजात शिशु स्वास्थ्य रहोस् भनेर यो कार्यक्रम लागू गरिएको उनले बताए।
'गर्भवती तथा सुत्केरी अवस्थामा साविकभन्दा बढी पोषिलो खाना र सरसफाइमा बढी ध्यान दिनुपर्ने हुन्छ', उनले भने, 'पोषिलो खाना र सरसफाइमा गर्भवती तथा घरपरिवारका महिलाको ध्यान पुगोस् भनेर पोषिलो खाद्यान्न वितरण गरिएको हो।'
सहजरूपले आयआर्जन गर्न नसकेका गर्भवतीका लागि केही हदसम्म भए पनि राहत मिलेको नगरप्रमुख चौधरीले बताए। सधैँ आश्वासनमात्र बोकेर आउने जनप्रतिनिधि यसरी पोषिलो खानेकुरा लिएर आएकामा स्थानीय गर्भवतीले खुसी व्यक्त गरेका थिए। रासस