काठमाडौं- सरकारले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ। अभियानका विषयमा छलफल गर्न सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको थियो।
प्रधानमन्त्री कार्यालयका सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, विभागीय प्रमुख तथा अन्य सम्बद्ध निकायका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले अभियान कार्यक्रम सञ्चालनका लागि तीन वटा समिति गठन गरेको छ।
प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्ति अनुसार मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रमको संयोजन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समन्वय गर्ने गरी विभिन्न विषयगत मन्त्रालयसहितको नीतिगत मार्गदर्शन र निकायगत समन्वयका लागि प्रधानमन्त्री कार्यालयका सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा अनुगमन तथा सहजीकरण समिति, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखको अध्यक्षतामा द्रुत कार्य समूह तथा धानमन्त्रीका स्वकीय सहसचिव गोकर्ण भट्टको अध्यक्षतामा प्रचार प्रसार समिति गठन भएको छ।
हेरौं विज्ञप्तिको पूर्णपाठ
प्रधानमन्त्री तथा मन्पिरिषद्को कार्यालय
प्रेस विज्ञप्ति
मिति २०८०।०४।२२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री विनोद प्रकाश सिंहज्यूको अध्यक्षतामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, विभागीय प्रमुखहरु तथा अन्य सम्बद्ध निकायका प्रतिनिधिहरुको उपस्थितिमा मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सम्बन्धी बैठक बसेको थियो ।
उक्त बैठकले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रमको सम्योजन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समन्वय गर्ने गरी विभिन्न विषयगत मन्त्रालय सहितको नीतिगत मार्गदर्शन र निकायगत समन्वयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री विनोद प्रकाश सिंहज्यूको अध्यक्षतामा अनुगमन तथा सहजीकरण समिति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुखको अध्यक्षतामा द्रुत कार्य समूह ( Rapid Action Team) तथा सम्मान प्रधानमन्त्रीज्यूका स्वकीय सहसचिव श्री गोकर्ण भट्टज्यूको अध्यक्षतामा प्रचार प्रसार समिति गठन गरेको छ ।
विश्वव्यापी रूपमा बढ्दो तनाव, बेरोजगारी, रोगको महामारी जस्ता कृयाकलापले जनताको मानसिक स्वास्थ्यलाई असर गरिरहेकोले त्यस सम्बन्धी कानुन एवम् नीतिमा सुधार गरी सरोकारवाला निकायहरूको साझा प्रयासमार्फत मानसिक रोग बारे जनचेतना फैलाउने उद्देश्यले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान सफलतापूर्वक सञ्चालन गर्न साथ र सहयोगको लागि सबै सरोकारवाला निकाय तथा आम सर्वसाधरणमा हार्दिक अपिल गर्ने निर्णय गरेको छ ।
२०८० साउन २३ गते, मङ्गलवार
(नारायण प्रसाद भट्ट)
प्रवक्ता