काठमाडौं- केन्द्रीय कारागार अस्पतालमा पनि आँखा पाक्ने रोगका बिरामीहरु देखिन थालेका छन्।
उक्त रोगका बिरामीहरु देखिन थालेपछि सावधानी अपनाउन अस्पतालले आग्रह गरेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीले कारागार कार्यालय तथा मातहतका कार्यालयलाई पत्र लेख्दै सावधानी अपनाउन आग्रह गरेका छन्।
साथै सबै सरोकारवालाहरुलाई रोकथामका उपायहरु अपनाउन पनि अस्पतालले आग्रह गरेको छ।
यस्तो अस्पतालको आग्रह
-भाइरल कन्जंक्टिभाइटिस भइहाले आत्तिनु पर्दैन। यो रोग १ देखि २ हप्तामा आफैं निको हुन्छ। स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि प्रयोग गर्नु हुदैन।
स्याहार गर्दा ध्यान दिनु पर्ने कुराहरु
संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र संक्रमित व्यक्ति भिडभाडमा नजाने।
जथाभावी आँखा नछुने। आँखा छुनु परेमा छुनु अघि वा छोइसके पछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने। व्यक्तिगत सरसफाइमा ध्यान दिने।
बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने।
आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने।
आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने।
प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने।
बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने।
संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने।
संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने।