काठमाडौं– गोकर्णेश्वर नगरपालिकाको सुन्ताखानमा पास्नीको भोज खाँदा एकै गाउँका ४० जनाभन्दा बढी बिरामी परेका छन्। गत सोमबार एक स्थानीयको घरमा आयोजित पास्नीको भोज खान गएका गाउँले सबै बिरामी परेका हुन्।
भोज खाएर फर्किएका उनीहरुमा निरन्तर पेट दुख्ने, छाडापखाला चल्ने, वान्ता हुने र प्रेसर लो हुने समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
गोकर्णेश्वर नगरपालिकाको नगर अस्पताल प्रमुख डा स्याङ्वो लामाका अनुसार शुक्रबारसम्म भर्ना हुन आएका ४० जनामध्ये ३० जनाको त्यहिँ उपचार भइरहेको छ भने १० जनाको अवस्था गम्भीर देखिएकाले टेकु रेफर गरिएको छ।
यस्तै तीन जना बिरामी शनिबार बिहान मात्रै थपिएको नगर अस्पतालका सूचना अधिकारी टीकाराम खड्काले जानकारी दिए। बिरामी भएर अस्पताल भर्ना भएकामध्ये दुई जना भने डिस्चार्ज भएका छन्।
उनीहरुमा फूड पोइजन भएको हुनसक्ने आशंका पनि गरिएको छ। अहिले नगर अस्पतालमा डा रोशन पोखरेल र श्रीकुमार श्रेष्ठ नेतृत्वको चिकित्सकीय टोलीले बिरामीहरुको परीक्षण गरिरहेको छ। डा श्रेष्ठले कोलेराको संकेतसमेत देखिएको बताएका छन्।
भोज खाएर बिरामी भएकाहरुको उपचार नगरपालिकाले गर्ने गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले बताएका छन्। यसका लागि एउटा टोली नै गठन गरेर सबै व्यवस्थापनको निर्देशनसमेत दिएका छन्।