काठमाडौं- काठमाडौं महानगरपालिकाले १९ जना विषय विज्ञ कर्मचारीका लागि आवदेन खुला गरेको छ। एक सूचना निकाल्दै महानगरले विभिन्न पदका विषय विज्ञका लागि इच्छुक र योग्य व्यक्तिले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र निवेदन पेस गर्न अनुरोध गरेको छ।
‘काठमाडौं महानगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७८ को दफा १४ मा भएको कानुनी व्यवस्था बमोजिम वातावरणीय अध्ययन प्रयोजनका लागि गठन हुने प्राविधिक समितिमा रहने विज्ञहरूको सूची तयार पार्ने निर्णय भएको हुँदा इच्छुक र योग्य व्यक्तिले यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र निवेदन पेस गर्नुहुन अनुरोध गरिन्छ,’ महानगरले जारी गरेको सूचनामा उल्लेख छ।
महानगरले फोहोरमैला व्यवस्थापन विज्ञ, वातावरण विज्ञ, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, जैविक विविधता विज्ञ/वन्यजन्तु विज्ञ, वातावरण कानुनविद् माग गरेको हो।
यसैगरी महानगरले मानवशास्त्री, समाजशास्त्री, पुरातत्त्वशास्त्री, अर्थशास्त्री, जन स्वास्थ्यविद्, भूगर्भशास्त्री/भूगर्भ इन्जिनियर, आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर, अर्बान प्लानर, ऊर्जा विज्ञ, इलेक्ट्रिकल इन्जिनियर, इलेक्ट्रोनिक इन्जिनियर, जियोम्याटिक्स इन्जिनियर मागेको छ।
काठमाडौं महानगरपालिकाले यसअघि पनि विभिन्न विज्ञ पदका लागि आवेदन मागेको थियो। तर त्यतिबेला पर्याप्त आवेदन परेको थिएन। महानगरले अहिले पुनः सूचना निकालेको हो।