मुगु– मुगुमा सर्पदंश उपचारको व्यवस्था नहुँदा सर्पदंशका बिरामीलाई उपचार गर्न समस्या भएको छ। पछिल्लो समय तराईमा देखिने विषालु सर्प पहाडमा पनि देखिन थालेको छ। छायाँनाथ रारा नगरपालिका–१२ का कर्णबहादुर बुढाले सर्पदंश उपचारका लागि जिल्ला अस्पतालमा व्यवस्था नरहेको बताए।
जिल्ला अस्पताल मुगुका प्रमुख डा कमल ढुङ्गानाले सर्पदंश उपचारका लागि तालिम प्राप्त चिकित्सकको अभाव रहेको बताए। उनले भने ‘एन्टिस्नेक भेनम, आइसीयू र भेन्टिलेटर नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या छ। जिल्ला अस्पतालमा आउने सर्पदंशका बिरामीलाई उपचारका लागि जिल्लाभन्दा बाहिर पठाउने गरेका छौं।’
छायाँनाथ रारा नगरपालिका–४ की बैदेवी सेजुवालले गत असार महिनामा सर्पले टोक्दा जिल्ला अस्पतालमा सर्पदंशको उपचार नभएपछि झारफुक विधिबाट उपचार गराउनुपरेको सुनाइन्। उनले भनिन्, ‘सर्पले टोकेका मान्छे जाँदा जिल्ला अस्पतालमा उपचार हुँदैन भन्छन्। हामीले के गर्ने त? जिल्ला अस्पतालमा सर्पदंश उपचारको व्यवस्था गरिनुपर्छ।’