ललितपुर- सानेपास्थित स्टार अस्पतालले पाँच वर्षको अवधिमा २ सय जना बिरामीको जोर्नी प्रत्यारोपण गरेको छ। अस्पतालले २ सय जनाको जोर्नी प्रत्यारोपण गर्न सफल भएको अवसरमा विशेष समारोहको आयोजना गरेको छ।
अस्पतालका वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा दीर्घराज आरसीको नेतृत्वमा डा सुमन मरहठ्ठा र डा राम ईश्वर यादव सहितको टिमले २ सय जनाको जोर्नी प्रत्यारोपण गरेको उक्त समारोहमा जानकारी दिइएको हो। जोर्नी प्रत्यारोपणको यो संख्यालाई स्टार अस्पतालले निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुले गरेको सबैभन्दा बढी भनेर दाबी गरेको छ।
दुई सय सफल जोर्नी प्रत्यारोपण सफल भएपछि आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष किशोर महर्जनले डाक्टरहरुको उत्कृष्ट टिम, अस्पतालका कर्मचारीको सहयोग एवं बिरामीको विश्वासका कारण छोटो समयमा २ सय बिरामीको जोर्नी प्रत्यारोपण गर्न सफल भएको जानकारी दिए।
उनले स्टार अस्पताललाई जोर्नी प्रत्यारोपणको क्षेत्रमा नेपालकै उत्कृष्ट सेन्टर बनाउने दाबी गरे।
अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डा दीर्घराज आरसीले निजी अस्पतालमा यति धेरै जोर्नी प्रत्यारोपण हुनु ठूलो कुरा भएको बताए। उनले आफ्नो टिमबाट पछिल्लो १३ वर्षको अवधिमा २ हजारको हाराहारीमा जोर्नी प्रत्यारोपण गरेकोमा २ सय केश स्टार अस्पतालमा गरेको जानकारी दिए।
अस्पतालका अर्का जोर्नी प्रत्यारोपण विशेषज्ञ डा सुमनबाबु मरहठ्ठाले नेपालमा प्राइभेट अस्पतालमा छोटो समयमा २ सय जोर्नी प्रत्यारोपण हुनु गर्वको विषय रहेको बताए।
उनले जोर्नी विशेष गरेर घुँडा र हिप यी दुबैको सुरुकै अवस्थामा प्रत्यारोपण गर्ने नभई पहिले औषधि, एक्सरसाइज तथा फिजियोथेरापी गरेर हेरिने र अन्तिम अवस्थामा मात्र प्रत्यारोपणको सल्लाह दिइने जनाए।
कार्यक्रममा स्टार अस्पतालमा जोर्नी प्रत्यारोपण गरेपछि सामान्य जीवन यापन गरेका दुई जना पूर्व बिरामीलाई समेत सहभागी गराईएको थियो।