झापा- मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल विर्तामोडका चिकित्सक २८ वर्षीय नीरज यादवको मृत्यु भएको छ। मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उनको आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मृत्यु भएको हो।
डा यादव सवार प्र १–०२–०५२ प ४२४१ नं को मोटरसाइकललाई प्र–३–००१ क ००९५ नं को टिपरले ठक्कर दिँदा उनी घाइते भएपछि मङ्गलबारेस्थित मदन भण्डारी अस्पतालमा उपचारकै क्रममा मृत्य भएको प्रहरीले जनाएको छ। ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
एमबीबीएस डा यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत थिए। घरबाट हस्पिटलको ड्युटीमा जाने क्रममा उनी दुर्घटनामा परेका थिए। -रासस