बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ। दोगडाकेदार–६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो।
प्रहरी प्रवक्ता एवम प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले यही भदौ १९ गते अनुगमनका क्रममा कार्कीले मेडिकल अवैधरूपमा सञ्चालन गरिरहेको फेला पारेको थियो।
अवैधरूपमा मेडिकल सञ्चालन गरेको पाइएपछि अनुगमन टोलीले सोही दिन पक्राउ गरेर प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ। प्रहरी निरीक्षक खत्रीले भने, “मेडिकल दर्ता नै नभएको र स्वास्थ्य विषय नपढे पनि क्लिनिक सञ्चालन गरेको पाइएको छ।”
अनुगमनका क्रममा कार्कीको मेडिकलसहित दोगडाकेदार–७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार–३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको थियो।
चिकित्सकको प्रेसक्रिप्सनबिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएको तथा सम्बन्धित निकायमा दर्ता प्रक्रियासमेत पूरा नगरेको पाइएकाले मेडिकल सिल गरिएको बताइएको छ।