काठमाडौं- मंगलबार बिहान (राति) हृदयघातबाट एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि शीर्ष नेताहरू अस्पताल पुग्ने क्रम जारी छ। नेम्वाङको पार्थिव शरीर अहिले त्रिवि शिक्षण अस्पतालमै छ।
निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू अस्पताल पुगेका हुन्।
काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उनको राति साढे १ बजे निधन भएको एमालेका प्रतिनिधि सभाका सचेतक महेश बर्तौलाले जानकारी दिए।
निधन भएका नेम्वाङ एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता हुन्। २०५१ मा राज्यमन्त्री र मन्त्री बनेका उनी दुवै संविधान सभाका अध्यक्ष पनि हुन्। २०४८ मा राष्ट्रिय सभा सदस्य भइ संसदीय यात्रा सुरु गरेका उनी २०५६ देखि २०७९ सम्मका सबै प्रतिनिधि सभा/संविधान सभा निर्वाचनमा विजयी भएका थिए।