चितवन- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले भरतपुर अस्पतालको आकस्मिक निरीक्षण तथा छड्के अनुगमन गरेका छन्।
चितवनमा आएका मन्त्री बस्नेतले केन्द्रीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालको आकस्मिक निरीक्षण तथा नयाँ युनिटहरुको उद्घाटन गरेका हुन्।
मन्त्री बस्नेतले न्यू आईसिइ तथा सिसियू र पिआईसियूको उद्घाटन गरेका थिए । अस्पताल निरीक्षणका क्रममा मन्त्री बस्नेतहरुले बिरामीहरुको गुनासो समेत सुनेका थिए। उनले अस्पतालका सेवा सुविधाबारे बिरामीहरुलाई जिज्ञासा समेत राखेका थिए।
मन्त्री बस्नेतसँगै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेल, मेसु डा कृष्णप्रसाद पौडेल लगायतले अस्पतालको विकासका लागि विभिन्न समस्याहरुका बारेमा जानकारी गराएका थिए।
उनले देशकै केन्द्र भागमा पर्ने भरतपुर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन्। मन्त्री बस्नेतले टिकट काउन्टर, फार्मेसी, आइसियू, आकस्मिक कक्ष, जनरल वार्ड, अस्पतालका महत्त्वपूर्ण विभागहरुको निरीक्षण गरेका थिए।
मन्त्री बस्नेतले टिकट काउण्डरको भिड कम गर्न र सेवा सहज बनाउन अनलाइन मार्फत टिकट काट्ने व्यवस्था गर्न निर्देशन दिएका थिए। त्यसैगरी अस्पतालमा रहेका साधारण बेड र आइसियू बेड खाली भए नभएको जानकारी वेबसाइटमा राख्न समेत निर्देशन दिएका छन्।
देशभरि मिर्गौला फेल हुने बिरामीहरुको संख्या बढ्दै गइरहेकोले डायइलासिस गराउन आवश्यक पर्ने बेड संख्या थप्न, अस्पतालको सरसफाईमा ध्यान दिन र आकस्मिक कक्षमा बेडको संख्या थप्न पनि मन्त्री बस्नेतले निर्देशन दिए।