काठमाडौं- चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष डा अन्जनी कुमार झाले पदबहाली गरेका छन्। आयोगका सहअध्यक्ष शिक्षामन्त्री अशोक राईको हातबाट पत्र बुझे लगत्तै उनले आयोगको कार्यलयमा पुगेर पदबहाली गरेका हुन्।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले झालाई उपाध्यक्षमा नियुक्त गरेको थियो।
पदबहाली लगत्तै डा झाले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अगाडि बढ्ने जानकारी दिए। उनले चिकित्सा शिक्षामा गुणस्तरीयता कायम गर्दै यस क्षेत्रको विकासमा लाग्ने बताए।
'अहिले देखिएका समस्याहरुको समाधान गर्दै यस क्षेत्रको विकासमा लाग्ने छु,' उनले भने, 'यस क्षेत्रमा काम गर्न निकै चुनौतीहरु छन्। तर चुनौतीलाई अवसरका रुपमा लिएर समस्याहरु समाधान गर्दै जाने छु।'
डा झा चिकित्सक संघका पूर्व अध्यक्ष समेत हुन्। उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्व अध्यक्ष पनि हुन्।