मेरो गाउँ परिवारमा सेतो कोट लाएर बिरामीको उपचार गर्ने मान्छे कोही पनि थिएनन्। हजुरबुबा ६०-६५ वर्षको उमेरमा बित्नु भयो। रोग के थियोे थाहा छैन। मेरी आमा कैयौं पटक मृत्युको मुखबाट बाचेर फर्किनुभयो। त्यो बेला जिल्ला अस्पतालमा डाक्टर नहुँदाको पीडा मैले नजिकबाट देखेको छु,भोगेको छु। त्यसैले पनि होला मेरो बच्चादेखि डाक्टर बन्ने सपना थियो। मैले डाक्टर पेशा अंगालेपछि अरु बन्न सकिँदैन भनेर रहर हुँदाहुँदै पनि कैयौं रहरहरु निमोठेको थिएँ। सायद तत्कालका लागि डाक्टर भन्दा अर्को पेशा कम आवश्यक थियो। निमोठिएका रहरहरुमा एउटा रहर साहित्यप्रतिको रुचि पनि थियो। २०७४ सालमा डाक्टर पढ्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नाम निस्कियो। डाक्टर बन्ने भएपछि साहित्यप्रतिको मेरो मोह घट्दै घट्दै गयो, समय दिन पनि सकिएन। दुईटा डुङ्गामा टेकेर गन्तव्यमा पुग्न सकिँदैन भनेर निकै सुन्ने गर्थँ।
सेतो कोटमा सजिएर हिप्पोक्रेट्सको ओथ लिनुपर्थ्यो, स्कुल अफ मेडिसिनको डिनले यो ओथ मसँगै अरु ६४ जना साथिलाई खुवाउनुभयो। स्कुल अफ मेडिसिनको डिन हुनुहुन्थ्यो वरिष्ठ बालरोग विशेषज्ञ प्राडा सिर्जना श्रेष्ठ।
डा सृजना श्रेष्ठलाई मैले पहिलो पटक देखेको अनि भेटेको त्यहीँ थियो। कार्यक्रममा उहाँले प्रस्तुत गर्नुभएको मन्तव्यसँगै मर्मस्पर्शी कविता मेरो मानसपटलमा अझै गुनगुनाइरहन्छ। म सोच्थेँ, म्यामले मेडिसिनमा स्नातकोत्तर सकेर फेरि साहित्यमा पनि अध्ययन सक्नुभएको होला। स्थापित साहित्यकार झै प्रस्तुति अनि मनै छुने शब्दावलीले कवितालाई झनै चोटिलो र सम्झनलायक बनाउन विशेष भुमिका खेलेको थियो।
एक जना मान्छे एमबीबीएस सकेर एमडी अनि प्राध्यापक बन्छ, आफ्नो आवश्यक अध्ययन सकेर कवि पनि बन्न सक्छ भन्ने उदाहरण नजिकैबाट देख्दा कुनै समय म पनि साहित्यकार बन्छु भन्दै नेपाली शिक्षकसामु हात उठाएको सम्झना भयो। कक्षामा अध्यापन गराउँदा पनि निकै सरल र स्पष्ट, डिनको कार्यकालमा पनि हामी विद्यार्थीका आवश्यक विभिन्न आयामको सजिलै सम्बोधन गर्नुहुने डा सृजना श्रेष्ठले प्रकृति, मानव जीवन, दुर्गम बस्तीका बाध्यता अनि बिवशता लगाएत थुप्रै विषयसँग सजिलै जोडेर थुप्रै कविता लेख्नुभएको छ।
कैयौं पटक कक्षाकोठामा सृजना म्यामका सिर्जना सुन्न हामी विद्यार्थी लालायित हुन्थ्यौ। मैले थुप्रै पटक आँखा अगाडि देखेका दुर्गमका वास्तविकता अनि यथार्थहरु डा सृजनाका कविताका विभिन्न घुम्तीमा भेटेको छु।
"प्रश्न चिन्हदेखि पुर्णबिरामसम्म", "बादललाई के थाहा..", "सृजना श्रेष्ठया चिनाख" कविता संग्रहहरु बजारमा प्रकाशित छन। अस्ति भर्खरै प्रकाशित "भोलि कोही नआउन्जेलसम्म" कविता संग्रह झनै उत्कृष्ट लाग्यो। समयानुक्रमसँगै डा सृजना श्रेष्ठले नेपाली साहित्यको आकशमा छुट्टै पहिचान बनाउनुभएको छ। ओपिडीमा होस या वार्डमा, बिरामीको सेवामा सधै तल्लीन हुँदा वास्तविक पिडाहरुलाई साहित्यका माध्यमबाट जनमानसमा गहिरो छाप पुर्याउनु उहाँको अर्को विशेषता लाग्यो। वार्डका राउन्डमा होस या कन्फ्रेन्समा डा सृजनाले गर्ने जस्तै मेहनत र लगावहरु कवितामा झन प्रस्ट झल्किन्छन, गाउँका गरिब बस्तीबाट उपचारका लागि महँगो सहर धाउन बाध्य नेपाली समाजलाई गहिरो ढंगले बुझेको मैले पाएँ।
भर्खर लोकार्पण भएको "भोलि कोही नआउन्जेलसम्म" कविता संग्रहमा ५० वटा कविता छ्न। हरेक कविता मनछुने छ्न, केही कविता मैले ३-४ चोटी दोहोर्याएर पढिसकेँ। त्यसमा समावेश भएको "गरिबिले जिस्काउदै गर्दा" कविताले दुर्गम बस्तीबाट शहर पसेको एक ब्यक्तिको आरोह-अवोरहलाई निकै मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ।
"फोनको घण्टी" कविता सङ्ग्रहमा कविले अहिलेको ब्यस्त समय,घरबाट टाढा रहेका छोराछोरीहरु, उनीहरुले किनिदिएको फोन अनि फोन आउला कि भनेर पर्खिरहेका पर्खाइहरुलाई पस्किनु भएको छ। सम्बन्धका डोरीमा गाठो नपर्ने हैन तर परेको गाठोले डोरी चुडाल्न हुँदैन। माया प्रेमका उतारचढावहरु, समयक्रम सम्बन्धमा आउने विभिन्न छालहरुलाई कविले "धागो चुडिनु भएन" कवितामा बडो मार्मिक तरिकाले पस्किनु भएको छ।
कवि डा सृजना श्रेष्ठले महिलाका कर्तव्यसँगै अधिकार र स-शक्तिकरण बारे विभिन्न कवितामा चर्चा गर्नुभएको छ। एक महिलाले घरमा श्रीमती, आमा, बुहारीको भुमिका निर्वाह गर्दै दैनिक कर्मथलो पुग्नुपर्ने बाध्यता, अरुलाई महत्त्व दिँदादिँदै आफ्नै ख्याल गर्न नपाएका बिवश कैयौं कुरालाई सुन्दर हरफ "तिमी त कामकाजी महिला" कवितामार्फत विभेद अहिले पनि छ तर विभेद शह्य छैन भनेर प्रष्ट पार्नुभएको छ।
यी लगाएत यस्ता थुप्रै विषयहरु यस कविता सङ्ग्रह "भोलि कोही नआउन्जेलसम्म" मा समावेश गरिएका छन्। डाक्टर भए पनि आफ्नो ईच्छा अनि आँट भए अरु विषय पनि सँगै लिन सकिन्छ भन्ने डा सृजनाले स्पष्ट पारिदिनु भएको छ, यस कुराले पक्कै पनि डाक्टरी पढ्न थालेदेखि लुकेको साहित्यप्रतिको मेरो मोह बाहिर आउने छ भन्ने ढृढ विश्वास छ।
डा सृजनाका कविता पढिरहँदा हरेक कविताहरुमा म आफैलाई पात्र सम्झिरहन्छु, सायद कविको अर्को सफलता यही हो। पाठक स्वयं कविताको पात्र बन्नुपर्छ अनि त मज्जा आउँछ पटकपटक पढिरहन।
अन्त्यमा विषयको गहिराइमा पुगेर उतारचढावहरु केलाउँदै यथार्थलाई मार्मिक ढंगले पस्किनु भएकोमा र नयाँ कविता सङ्ग्रह ल्याउनुभएकोमा कवि प्राडा सृजना श्रेष्ठलाई हार्दिक बधाई तथा धेरै शुभकामना व्यक्त गर्दछु।