काठमाडौं- नेपाल प्रगतिशिल चिकित्सक संघले हेटौंडामा डाक्टरहरुमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको मागसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
संघले ३१ गते आइतबार देखि लागू हुने गरी ३ दिनभित्र मागहरू पूरा नभए कार्यस्थलमा खटिन नसकिने हुनाले सामूहिक राजीनामा दिने जनाएको छ। तर ३१ गतेसम्म भने हाल जारी कालोपट्टी बाँधी सेवा दिने कार्यक्रम जारी राख्ने संघले जनाएको छ।
यस्तै असोज ३ गतेसम्म मागहरू पूरा नभएको खण्डमा माग पूरा नभएसम्मका लागि हाम्रो सामुहिक राजीनामा अनुसार आ-आफ्नो कार्यमा उपस्थित नहुने बताएको छ।
के छन् माग?
१. मिति २०८०/०५/२७ गते सन्चो अस्पतालका चिकित्सक द्वयमाथि सांघातिक आक्रमण गर्ने सबै आक्रमणकारीहरूलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्था सुरक्षा ऐनको दफा ३को खण्ड (क), (ख) तथा (ग) बमोजिम तथा फौजदारी अपराध संहिता अनुसार ज्यान लिने कोशिश गरेको अभियोगमा सुरक्षा ऐनको दफा १५ को उपदफा २ खण्ड (क), (ख) अनुसारको सजायको मागदाबी सहित तथा फौजदारी अपराध संहिताको “ज्यान लिने कसुर”को अनुसारको सजायको मागदाबी सहित हिरासतमा राखी तत्काल अदालतमा मुद्दा दायर गरिनुपर्ने | प्रहरी कार्यालयमा प्रहरी प्रमुखकै अगाडि घाइते चिकित्सकहरूलाई “जाहेरी दर्ता गरेमा काटिदिने” धम्की हिनेहरूलाई सोही ऐनको दफा ३ खण्ड घ, ङ, च अनुसारको कसुरमा दफा १५को उपदफा २ खण्ड ग अनुसारको सजायको मागदाबी सहित तत्काल अदालतमा मुद्दा दायर गरिनुपर्ने।
२. उक्त फौजदारी प्रकृतिको घटनामा आक्रमणकारीहरूलाई कानून अनुसार पक्राउ गरी अनुसन्धान अघि बढाउनुको साटो उल्टै घाइते चिकित्सकहरूलाई आक्रमणकारीहरूसँग दिनभर राखी जाहेरी नै दिन नसक्ने अवस्थामा पुर्याएकोले यस घटनाको तत्काल छानबिन गरी जिल्ला प्रहरी प्रमुखमाथि समेत नियमानुसार तत्काल कारवाही गरिनुपर्ने।
३. स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्था सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन तथा सो को समन्वयको जिम्मा ऐन अनुसार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भएको तर ऐनको संशोधन पारित भएको एक वर्ष बितिसक्दा समेत मन्त्रालयले सो को प्रभावकारी कार्यान्वयनको कुनै पहल नगरेकोले तत्काल सो ऐनको प्रभावकारी कार्यान्वयनको प्रत्याभूति हुने गरी (ऐनको दफा ५ बमोजिमको समितिको तत्काल पूर्णता र दफा ६ बमोजिमको समितिको काम, कर्तव्य र अधिकार अनुसारको काम अगाडि बढाउने) कार्य अगाडि बढाउनुपर्ने |