धनगढी- धनगढी उपमहानगरपालिका-१६ रामपुरमा नमुना खोप क्लिनिक केन्द्र स्थापना भएको छ। शुक्रबार एक कार्यक्रमकाबीच उप-प्रमुख कन्दकला रानाले नमुना खोप केन्द्रको उद्घाटन गरेकी हुन।
खोप केन्द्र उद्घाटन गर्दै उप प्रमुख रानाले रामपुरबासीको घर आगनमै नमुना खोप केन्द्र स्थापना भएकोले जनता छिटोछरितो र सहज तरिकाले सेवा पाउने बताइन्।
'हिजोका दिनमा रुखमुनी बसेर खोप लगाउनुपर्ने अवस्थालाई मध्यनजर गरि गाउँमै नमुना खोप केन्द्र स्थापना गरिएको हो' उनले भनिन। धनगढी उपमहानगरपालिकाले पछिल्लो समय स्वास्थ्यमा लगानी गरिरहेको र जसले गर्दा मानवीय विकासमा टेवा पुग्ने धारणा राखीन।
यस्तै कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले रामपुरका कुनैपनी बालबालिकालाई खोपबाट बन्चित नगर्न स्वयमसेविका तथा स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए। उनले बालबालिकाहरुलाई नियमित खोप लगाउने बिषयमा उपमहानगरपालिकाले गम्भीर भएर काम गरिरहेको र सबैले सहयोग गर्नुपर्ने बताए।
कार्यक्रममा धनगढी उपमहानगरपालिका-१६ का वडाध्यक्ष रामलाल चौधरीले रामपुरबासीले गाउँमै खोप केन्द्र स्थापना हुँदा खुसी भएको बताए। उनले रामपुर निकै दुर्गम तथा वडा स्वास्थ्य केन्द्रभन्दा टाढा रहेकोले बालबालिकाहरुले खोप पाउन अप्ठ्यारो भोग्दै आएकोले खोप केन्द्र स्थापना गरिएको बताए।
युनिसेफ नेपालको सहयोगमा सुरु भएको उक्त नमुना खोप केन्द्रमा खानेपानी, हात धुने स्थान, सौचालय, सेवाग्राहीलाई बस्ने कुर्सी टेबल, झ्यालमा पर्दा, साउण्ड सिस्टम र जनचेतनामूलक ब्यानर तथा पोस्टरहरु व्यवस्थापन गरिएको छ। सोही व्यवस्थापन वडा कार्यालय समेत आर्थिक सहयोग गरेको थियो।
कार्यक्रममा सिअनमी ममता पन्तले नियमित खोप सञ्चालन हुने अवस्था र सरसफाई प्रबर्द्धन बारे जानकारी गराएकी थिइन्। उनले पहिलोपटक खोप लगाउन आउने आमाहरूलाई सरसफाई चार्ट सहितको ऐना र अन्तिम पटक खोप लगाउन आउने आमाहरुलाई नमुना परिवार प्रमाणपत्र र पुर्ण खोप कार्ड प्रदान गरिदै आएको बताइन्।
यस्तै आजको नियमित खोप कार्यक्रममा १ जना आमालाई सरसफाई चार्ट सहितको ऐना र २ जना आमालाई नमुना परिवार प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थी, युनिसेफ नेपालका अशोक जोशी, बास नेपालका तेज बोहरा, महिला स्वास्थ्य स्वयमसेविका, भल्मन्सा र स्थानीय गरि ३१ जना बढीको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन तथा स्वागत मन्तव्य उर्मा स्वास्थ्य चौकी प्रमुख डिल्लीराज जोशीले गरेका थिए।