मुगु- कर्णालीमा कार्यक्रम गरेर फर्किने क्रममा मुगुको ताल्चा विमानस्थलमा अलपत्र पारिएका १६ जना चिकित्सकलाई ल्याउन नेपाल एअरलाइन्सको जहाज पठाइएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले तत्काल जहाज पठाउने व्यवस्था गरिएको बताएका छन्।
उनले फेसबुमा स्टाटस लेख्दै भनेका छन्, 'मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरुको खबरले दु:खित बनायो। गन्तव्यमा पुर्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ।'
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरू उक्त जहाजबाट नेपालगञ्ज फर्किने भएपछि चिकित्सक रोकिएका हुन्।
उक्त टोलीमा रहेका डा प्रमोद लामिछानेले बिहान जहाज चढ्ने क्रममा एकाएक केही माओवादी नेताहरु समेत लैजानुपर्ने भएकाले सवैलाई लिन नसकिने बताएको जानकारी दिएका छन्।