काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
मंगलबार साँझ नेपाल चिकित्सक संघ(एनएमए) का प्रतिनिधिसँगको भेटमा उनले स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि आक्रमण कुनै पनि हालतमा सह्य नहुने भन्दै दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्।
डाक्टरमाथि आक्रमणका घटना बढ्न थालेपछि चिकित्सक संघको टोलीले गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको थियो।
भेटका क्रममा श्रेष्ठले सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन उल्लेख गरिएको बडापत्र राख्नुका साथै भयरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको संघका अध्यक्ष अनिलबिक्रम कार्कीले जानकारी दिए।
बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, नेपाल मेडिकल काउन्सिल, चिकित्सक संघ, नर्सिङ संघ लगायतका प्रतिनिधिको उपस्थिति थियो।
मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्।