काठमाडौं- नेकपा एमालेले डाक्टरहरुमाथि दुर्व्यवहार, आक्रमण र तोडफोडप्रति निन्दा गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ।
नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै विगत केही समयदेखि स्वास्थ्य संस्था र चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि निरन्तर भइरहेको दुर्व्यवहार, आक्रमण र तोडफोडको निन्दा गरेका हुन्।
‘विभिन्न जोखिम मोलेर बिरामीको सेवामा जुटिरहेका चिकित्सक लगायत स्वास्थ्यकर्मीलाई श्रृंखलाबद्ध सांघातिक हमला हुनुमा प्रशासन नै जिम्मेवार छ’, श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न बहानामा प्रशासनबाट कुनै कारबाही नहुने भएपछि अपराधीको मनोबल स्वतः बढ्ने नै भयो।’
‘विगतमा भएका चिकित्सक लगायत पेशागत संघ संगठनसँग भएका सम्झौता र प्रतिबद्धताहरू हालसम्म कार्यान्वयन भएको देखिएन, उल्टै अपराधीहरूलाई सत्ताको आडमा राजनीतिक संरक्षण दिई कानुनी राज्यको उपहास गरिएको छ’, एमालेले भनेको छ।