काठमाडौं- नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले स्वास्थ्यकर्मीको दरबन्दी बढाउन र स्रोत साधन सम्पन्न बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताएका छन्।
शुक्रबार शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद भण्डारीले स्वास्थ्य क्षेत्रमा थोरै जनशक्तिले काम गरिरहेको भन्दै स्वास्थ्यकर्मीको जनशक्ति थप्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका हुन्। उनले स्वास्थ्यकर्मीहरुको संख्या बढाउँदा मात्रै पनि बिरामीको समस्या सम्बोधन हुने बताए। भण्डारीले चिकित्सकलाई रोग पहिचानका लागि उपकरण दिनै नसकिएको भन्दै कानून भएपनि कार्यान्वयन नभएको बताए।
सांसद भण्डारीले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रमा समस्याहरु छन्। समस्याहरु जनशक्तिको छ, दरबन्दी बढ्दैन। जुन कुरा हामीले बारम्बार कुराहरु उठाइरहेका छौं। संघ, प्रदेशका अस्पतालमा स्वास्थ्यकर्मीहरुको संख्या बढाइदिने हो भने जनताको समस्या सम्बोधन हुन्थ्यो। जनताको चाहना अनुसार काम गर्न सकेनौं। प्रशासनका मान्छेले दरबन्दी सृजना गर्दा समस्या आएको हो। हामीले अस्पताल दिन्छौं तर, त्यसलाई स्रोत, साधन हेर्दैनौं। चिकित्सकलाई रोग पहिचानका लागि उपकरण दिँदैनौं। हाम्रो मोनिटरीङ छैन। चिकित्सा शिक्षा आयोगले दरबन्दी दिनसक्छ विद्यार्थी संख्या दिन्छ तर, उपकरणको कुरा गर्दैन। त्यहीबाट यो देशमा स्वास्थ्यकको समस्या परेको छ। हामीसित जुन कानून छ, कानूनले काम नै गरेन। अहिले त झन् हामी अफ्ठ्यारोमा परेका छौं। जसले जतिसुकै अपराध गरेपनि छोडदिने कुराले अपराधी प्रवृत्ति बढेको छ। सरकारले डाक्टर र इन्जिनियरलाई प्राथमिकता दिनुपर्छ। किनभने हामीले फस्ट व्रेन भन्छौं। एउटाले मुख्र्याईं गरेको भन्दैमा अर्कोले मुख्र्याईं गर्नुहुँदैन। दोषीलाई कानूनी कारबाही हुनुपर्छ। तपाईहरुले अस्पताल बन्द गरिदिँदा धेरै बिरामी मर्न सक्छन्। राज्यका कमजोरीका कारण धेरै डाक्टरहरु नेपाल बस्न पाएका छ्रैनन्। स्वास्थ्यकर्मीको दरबन्दी बढाउन र स्रोत साधन सम्पन्न बनाउन स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउँछु।’
समितिमा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले स्वास्थ्यकर्मीहरुको ऐन कानून सुधार्न आन्दोलनरत पक्ष वार्तामा आउनुपर्ने बताए। उनले अरु तरीकाले राज्य अराजकतातर्फ जाने भन्दै वार्तामार्फत कानून, नियमावली र कार्यविधिमा सुधार गर्न सकिने बताए।
उनले भने, ‘कर्तव्य ड्युटी हो। आफ्नो जिम्मेवारी हो। ऐन कानून सुधार्न वार्ताको टेबलमा बस्नुपर्छ। अरु तरीकाले गरे राज्य अराजकतातिर जान्छ। वार्तामार्फत् जाँदा पहिलो कानूनमा सुधार, नियमावली सुधार, कार्यविधिमा सुधार के के हो त्यो टेबुलद्वारा पहलकदमी गर्न अनुरोध गर्न चाहन्छु। कोही व्यक्तिले संगठित तरीकाले अपराध गरेको छ भने थुन्नुपर्छ। समस्याको हल भनेको वार्ता हो। वार्ताको टेबुलबाट समस्याको हल हुनुपर्छ। गृह सचिवलाई अनुरोध छ, अपराध गर्ने जो सुकैलाई कारबाही गर्नुहोस्। कुट्ने कुरा अक्षम्य कुरा हो। हजार वटा फोन आएपनि अपराधजन्य क्रियाकलापलाई नियन्त्रण गर्नुपर्छ। ’
उनले अपराध गर्ने जो सुकैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।